Logo

एकल बहुमत पुग्ने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय गलत हो, आत्मसमर्पण गरेर कोही जानेवाला छैनः माओवादी केन्द्रका नेता



काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एकल बहुमत पुग्ने गरी गठबन्धन गर्ने नेपाली कांग्रेसको निर्णय गलत भएको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेसले दम्भ लिएको छ । कांग्रेसले एकल बहुमत पुग्ने गरी मात्र गठबन्धन गर्ने कुरा नै गलत हो । हामी उसको पुच्छर वा बैसाखी बन्न जाने कुरा छैन । कांग्रेससँग आत्मसमर्पण गरेर कोही जानेवाला छैन ।”
कांग्रेसलाई सय सिट दिन नसकिने पनि उनले स्पष्ट पारे । पोखरेलले थपे, “चाहिन त कांग्रेसलाई १६५ सिट नै चाहिएला । तर त्यसलाई अरुले मानिदिनुपर्ने के छ ? २०७४ मा कांग्रेसले जति जितेको थियो, त्यस आधारमा भागबन्डा गर्ने हो । स्थानीय तहमा पनि कांग्रेसले पालिकामा मेजोरिटी जितेको छैन । त्यो ढंगको ताममेल सम्भव छैन । सय सिट वा बहुमत सिट चाहिन्छ भन्छ र एक्लै लड्छ भने उसको खुसी हो । हामी एक्लै लड्न सक्दैनौ भन्ने पनि होइन ।”
नेपाली कांग्रेससँग साझेदारी गरेर समाजवाद नआउने भएकाले वामपन्थी एकताको आवश्यकता रहेको पनि पोखरेलले औंल्याए । उनले भने, “पुँजीवादको क्लाइमेक्स सोचेर समाजवादमा जान सम्भव हुन्न । त्यसैले नेपाली कांग्रेससँग हाम्रो दीर्घकालीन गठबन्धन हुँदैन । अहिले संविधान र जनप्रतिनिधिमूलक संस्थाको रक्षाका सन्दर्भमा गठबन्धन भएको हो ।”
माओवादी केन्द्र र एमालेबीच एकता र तालमेल कति सम्भव छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “यो कुरा एमालेको नीतिमा भर पर्छ । उसले गठबन्धन छाडेर आऊ अनि सहकार्य हुन्छ भनेको छ । माओवादीलाई गठबन्धनबाट अलग गर्ने, अनि माओवादी केन्द्रलाई घर न घाटको बनाउने षडयन्त्रको गन्ध पनि पाउँछु ।”
एमालसँग कुरा नमिले ऊबाहेकको नभए वामपन्थी गठबन्धनमा पनि आफ्नो पार्टी खुला रहेको उनले बताए । पोखरेलले भने भने, “वाम कम्युनिस्ट ब्रान्डलाई एकीकृत नगरीकन समाजवादीको लक्ष्य पूरा हुन सक्दैन । तर चुनावदेखि चुनावसम्मका लागि मात्र सहकार्य युक्तिसंगत होइन । माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम–उपेन्द्रजीहरु लगायतका गठबन्धन असम्भव छैन । सबै विकल्प खुला छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot