Logo

चुनावमा समाजवादी केन्द्र बनाएर जाने प्रचण्डको रणनीति



काठमाडौं, ४ साउन । नेकपा एमालेभित्र कम्युनिस्ट शब्द हटाएर समाजवादी राख्ने एजेन्डा उठाउने नेता थिए प्रदीप नेपाल । उनी अहिले निष्कृय छन् । माधव नेपाल, झलनाथ खनला हुँदै केपी शर्मा ओलीको नेतृत्व आएपनि एमालेले कम्युनिस्ट शब्द छाड्न तयार भएको छैन । तर, कम्युनिस्ट नामले नै सशस्त्र गतिविधि गरेका माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट नाम नै त्याग्ने तयारी गरेका छन् ।

प्रचण्डले आगामी चुनावमा जाँदा समाजवादी केन्द्र बनाएर जाने रणनीति लिएका छन् । यसका लागि छलफल अगाडि बढाइसकेका छन् ।

प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईका अलावा पूर्वउपप्रधानमन्त्री वामेदव गौतमलाई एक साथ भेटेर समाजवादी केन्द्र बनाएर जाने प्रस्ताव गरेको बुझिएको छ ।

समाजवादी केन्द्र बनाएर जाने विषयमा बाबुराम भट्टराई यसअघि नै सहमत थिए । उनले कम्युनिस्ट सिद्धान्त त्यागिसकेका छन् । कम्युनिस्ट शब्द हटाउने विषयमा माधव नेपाल र झलनाथ खनाल लचिलो नभइसकेको बुझिएको छ । तर, उनीहरुलाई पनि समेटेर जाने गरी प्रचण्ड बढेका छन् ।

समाजवादी केन्द्र बनाउँदा उपेन्द्र यादव पनि समेटिने सम्भावना रहेकोले प्रचण्डले त्यसबारे रणनीति चालेको देखिन्छ । केन्द्रमा सत्ता गठबन्धनका काँग्रेसबाहेकका मुख्य दलहरु रहेबाट आगामी चुनावको तालमेलमा सिटको दाबीमा बलियो बार्गेनिङ्ग गर्न सकिने बुझाई नेताहरुको रहेको देखिन्छ । काँग्रेसलाई आधा र समाजवादी केन्द्रलाई आधा सिट मागेर चुनावमा जाने तयारीका साथ प्रचण्ड बढेका छन् ।

नेपालको राजनीतिमा निर्णायक शक्ति बन्दै आएका प्रचण्डले चुनाव अघि नै आफूलाई फेरि बलियो गरी प्रस्तुत गर्न लागेका छन् । उनको यो रणनीतिलाई अर्थपूर्ण मानिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot