Logo

पृथ्बीसुब्बा गुरुङको आरोप-आफ्नो भूमिमा विदेशी सेना ल्याउने तह सम्ममा यो सरकार पुगिसक्यो (भिडिओसहित)



काठमाडौं, ४ साउन । नेकपा (एमाले) का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले आफूहरुलाई पनि चुनाव लागेको र सोहीअनुसारको तयारी गरेको बताएका छन् । उनले भने,‘एमालेलाई पनि चुनाव लागिसक्यो । कांग्रेसले यति चाँडै किन निर्णय गरेको त ? किनभने उसलाई हतास भैसक्यो, कतै प्रचण्ड र केपी ओली मिलिहाल्छन् कि, किनभने हिजोपनि मिल्दैनन् भन्दा मिलेकै हो । माधव नेपाल एमालेमा फर्किन्छन् भन्ने त्रास कांग्रेसमा देखिएको छ । कांग्रेसको साईकोलोजी के छ भने यो गठबन्धन भत्कियो भने हामी किनारामा पुग्छौं भन्ने छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेसँग गठबन्धन गर्ने खुबी रहेको स्मरण गराए । ०७४ को निर्वाचनमा पनि स्थानीय तहमा गठबन्धन नहुँदा संघ र प्रदेशको निर्वाचनमा गठबन्धन भएको उनले स्मरण गराए । उनले यसपटकको स्थानीय तहको निर्वाचनमा एक्लै लड्दापनि एमालेले लोकप्रिय मत ल्याएको सुनाए । उनले भने,‘अहिलेपनि हामी एक नम्बरको पार्टी हौं नि, लोकप्रियताको हिसाबले । अब चाहीँ स्थानीय तहको निर्वाचन र संघको निर्वाचन एकै हुन्छ र ? पपुलर भोटको प्रतिविम्बित हुने थलो संघ र प्रदेशको निर्वाचन हो । हामी यसपटक बहुमतको साथ सरकार बनाउँछौं । यो दिवा सपना होईन ।’

उनले आफू सुरुदेखि नै वाम गठबन्धनको पक्षधर नेता भएको सुनाए । अहिले गठबन्धनको सरकार असफल भएको उनको आरोप छ। उनले भने,‘आफ्नो भूमिमा विदेशी सेना ल्याउने तहमा यो सरकार पुगिसक्यो । महँगीको कुरा छोडिदिनुहोस, ठूला ठूला दलाल पुँजीपतिहरुको ईशारामा लागेर, त्यो कामको परिणाम आज जनार्दन शर्माले भोग्नुपर्यो । उहाँले गरेको होईन नि यो काम । उहाँलाई अर्थमन्त्री बनाएको प्रधानमन्त्रज्यिूले हो । उहाँलाई अर्थमन्त्री बनाउनेहरुले यो काम गराए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot