Logo

पशुपतिको जलहरीको १० किलो सुन गायब पारिएको पुष्टि



काठमाडौं, ४ साउन । पशुपतिमा जलहरी राख्दा १० किलो सुन गायब पारिएको पुष्टि भएको छ । महालेखापरीक्षकको प्रतिवेदनले १० किलो सुन हिनामिना भएको उल्लेख गरेबाट गायब पारिएको पुष्टि भएको हो ।

केपी शर्मा ओली प्रधानमन्त्री र भानुभक्त ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०७७ सालको शिवरात्रीमा जलहरी राखिएको थियो । उक्त निर्णय विवादमा परेको थियो । तर, मन्त्रिपरिषदले निर्णय गराएर जलहरी नै राखियो ।

पशुपति विकास कोषले २०७० सालमा जलहरी राख्न खोज्दा विवादमा परेपछि रोकिएको थियो । तर, ओलीले निर्णय गराएपछि कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ मूल्यको १०३ किलो सुन खरिद गरेको थियो । जलहरी, जलधारा, नाग, नागको मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेकोमा बाँकी सुनबारे प्रश्न उठको थियो । निर्माण सकिएपछि १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरुमा लगाएको कोषले जवाफ दिएपनि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

महालेखाको प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भएकोबारे कुनै कागजात कोषमा प्राप्त नभएको स्पष्ट पारिएको छ । रिङ बनाउन प्रयोग भएको भनिएको सुनको बिल पेश नभएको प्रतिवेदनमा उल्लेख छ ।

सुन गायब बनाउन को को संलग्न भए र कसरी गायब पारियो भन्नेबारे खोजी भने रोकिएको छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्