Logo

गतवर्ष लगानी प्रतिबद्धता दोब्बरभन्दा धेरै



काठमाडौं, साउन ५ । कोभिड–१९ को संक्रमण कम भएपछि नेपालमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको देखिएको छ । अघिल्ला २ वर्षमा खुम्चिएको लगानी प्रतिबद्धता आर्थिक वर्ष (आव) २०७८/७९ मा अघिल्लो वर्षको दाँजोमा करीब १२० प्रतिशतले बढेको छ ।

उद्योग विभागका अनुसार गत आवमा अघिल्ला २ वर्षको तुलनामा लगानी प्रतिबद्धता उक्त मात्रामा बढेको हो । सो वर्ष स्वदेशी र विदेशी लगानीका ३०९ उद्योग दर्ता हुँदा लगानी प्रतिबद्धता ३ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । आव २०७७/७८ मा उद्योग दर्ता २०३ हुँदा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । कोभिड–१९ पूर्ण रूपमा निर्मूल नभए पनि संक्रमणदर कम हुँदै जाँदा गतवर्ष लगानी प्रतिबद्धता बढेको देखिएको छ ।

कोरोना संक्रमणपूर्वको आव २०७५/७६ मा यस्तो लगानी प्रतिबद्धता २ खर्ब ८५ अर्ब थियो । विभागका अनुसार उक्त लगानीमा सञ्चालन हुने गरी ४४१ उद्योग दर्ता भएका थिए । कोरोनाकालमा खुम्चिएको लगानी गतवर्ष बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । यद्यपि कोरोना कम भएपछि मात्रै लगानी नबढेको र यसमा अरु पक्षको पनि हात रहेको उनको दाबी छ ।

‘केही वर्षदेखि हामीले औद्योगिक वातावरण बनाउन र लगानीकर्तालाई आकर्षित गर्न ऐन, नियमावली संशोधनदेखि प्रशासनिक पक्षमा पनि सुधार गर्दै आएका छौं,’ तिवारीले भने, ‘यसले पनि लगानी प्रतिबद्धता बढेको हो । नीतिगत सुधारलाई पनि यसको कारण मान्न सकिन्छ ।’ स्वदेशी र विदेशी लगानीकर्ताका लागि सहज वातावरण बन्दा प्रतिबद्धता बढेको उनले दाबी गरे ।

प्रतिबद्धता र उद्योग दर्ता हुँदैमा लगानी भइहाल्ने चाहिँ होइन । विभागका महानिर्देशक भन्छन्, ‘प्रतिबद्धताअनुसार लगानी आउँदैन र पनि निराश हुनुपर्ने अवस्था छैन । प्रतिबद्धता बढ्दा लगानी पनि बढ्ने हुन्छ ।’ उनका अनुसार पछिल्लो समय प्रतिबद्धताको ५० देखि ६० प्रतिशतसम्म लगानी भएको देखिन्छ । प्रतिबद्धतालाई लगानीमा परिणत गर्न सरकारले उल्लेख्य काम गरेको भने पाइँदैन । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्