Logo

कोसँग गठबन्धन गर्ने भन्ने कुरा कांग्रेस र एमालेको व्यवहारमा भर पर्छः खतिवडा



काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले वाम गठबन्धनका लागि नेकपा एमालेसँग कुनै पनि संवाद नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “हामीले नेकपा एमालेसँग विद्रोह गरेर नयाा पार्टी बनायौं । हामीबीच अन्तरविरोध तीव्र छ । मित्रताभन्दा शत्रुता ज्यादा छ । उसले हामीलाई पार्टीको व्यवहार गरेको छैन । हाम्रो अस्तित्व स्वीकार नगरेपछि कसरी वार्ता हुन्छ ?”
नेकपा एमालेसँग गठबन्धन हुने कति सम्भावना छ भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले थपे, “माधव नेपाललाई बाटोमा जम्काभेट हुँदा गठबन्धनको प्रस्ताव गरेर भएन, पार्टीलाई आधिकारिक रुपमा पत्र पठाएर विधिसम्मत ढंगले गर्नुपर्यो नि । आफ्ना पार्टी कार्यकर्ता वा पत्रकारलाई भनेर त भएन । सबैभन्दा पहिले हाम्रो राजनीतिक अस्तित्व स्वीकार गर्नुपर्यो । एमालेसँग गठबन्धन हुने वा नहुने भन्ने कुरा नेपाली कांग्रेसको व्यवहार र रणनीति कस्तो हुन्छ, अनि नेकपा एमालेले कति करेक्सन गर्छ त्यो सँगसँगै घटित हुने कुरा हुन् ।”
नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउँछु भन्दा अन्यथा लिने कुरा नभएको पनि खतिवडाले बताए । उनले थपे, “पहिले त सिटको बाँडफाँड गरौं । पाँच वर्ष सरकार चलाउने मोडालिटी, नेतृत्वबारे स्पष्ट हौं । साझा घोषणापत्र र एजेन्डा लिएर समाजवादको दिशामा अघि बढ्ने कुरामा लाग्ने हो भने मात्र गठबन्धन राम्ररी अघि बढ्छ । नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउँछु भन्दा अन्यथा लिने कुरा छैन । चुनावमा गठबन्धनमात्र गर्नुपर्छ भन्ने छैन । एक्लै पनि चुनावमा जान सकिन्छ ।”
गठबन्धनभित्रकै दलहरुले एसपीपीमा जान अनुकूल वातावरण खोजिरहेको आरोप पनि उनले लगाए ।

 



प्रतिक्रिया दिनुहोस्