Logo

विश्वका १९९ देशको सूचीमा नेपाली पासपोर्ट १०६औं नम्बरमा



काठमाडौं, ५ साउन । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् ।

हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढी अनआराइभल भिसा पाउँछ सोही पासपोर्टलाई सबैभन्दा शक्तिशाली मानिने गरेको छ ।

यसैलाई आधार बनाएर हेन्ली एण्ड पार्टनर्सले हालै ‘पासपोर्ट इन्डेक्स २०२२’ सार्वजनिक गरेको हो । ३८ देशले अनअराइभल भिसा दिने नेपाली पासपोर्टलाई सूचीमा १०६औ नम्बरमा राखिएको छ ।

सूचीको पहिलो नम्बरमा जापान रहेको छ । जापानी पासपोर्ट वाहकलाई विश्वका १९३ देशले अनअराइभल भिसा दिने गरेका छन् । दोस्रो नम्बरमा सिंगापुर र दक्षिण कोरिया रहेका छन् । दुवै देशका पासपोर्ट वाहकलाई विश्वका १९२ देशले अनअराइभल भिसा दिने गरेका छन् ।

सूचीको तेस्रोमा नम्बरमा जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली र लक्जेमवर्ग रहेका छन् भने पाँचौं स्थानमा अष्ट्रिया, डेनमार्क, नेदरल्याण्ड्स र स्वीडेन छन् ।

विश्वको सबैभन्दा कम शक्तिशाली पासपोर्ट अफगानिस्तानको रहेको छ । अफगानिस्तानको पासपोर्ट वाहकलाई विश्वका मात्र २७ देशले अनअराइभल भिसा दिने गरेका छन् ।

विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपालपछि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन् । दक्षिण एसियामा नेपाली पासपोर्टभन्दा माल्दिभ्स, भुटान, बंगलादेश, भारत र श्रीलंकाको पासपोर्ट बढि शक्तिशाली देखिएको छ ।

हेन्ली एण्ड पार्टनर्सको सन् २०२१ को सूचमा नेपाल ११०औं नम्बरमा रहेको थियो र नेपालपछि सात देश रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्