Logo

के गगन थापा चुनावपछि प्रधानमन्त्री बन्न सक्लान्



काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए । यसकारण पनि उनी यसपटक हौसिएका छन् ।

थापा काठमाडौं क्षेत्र नं ४ बाट दुई पटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् । पहिलो संविधानसभामा उनी समानुपातिक सांसद थिए । तीनपटक सांसद र एकपटक मन्त्री भइसकेका थापा यसपटक पनि काठमाडौं ४ बाट उम्मेदवार बन्ने सम्भावना छ ।

संविधान अनुसार प्रधानमन्त्री बन्न संसद सदस्य हुनैपर्छ । त्यसैले थापाले आगामी प्रतिनिधिसभाको चुनाव जित्नुपर्ने हुन्छ । काठमाडौं ४ मा उनलाई यसपटक ठूलो चुनौती छ ।

चुनाव जितेपछि प्रधानमन्त्री बन्न थापाले संसदीय दलको नेता बन्न सक्नुपर्छ । काँग्रेसको विधान अनुसार संसदीय दलको नेता मात्र प्रधानमन्त्रीको लागि बढ्न सक्छ ।

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. सशांक कोइराला, कृष्णप्रसाद सिटौला पनि भावी प्रधानमन्त्रीको दौडमा छन् । यसपछिको पुस्ताका पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, बालकृष्ण खाँण, धनराज गुरुङ पनि बाँकी छन् ।
गगन थापाले आफूभन्दा पाका उमेरका नेताहरुलाई उछिनेर संसदीय दलको नेता बन्नुपर्ने चुनौती छ । त्यसका लागि प्रतिनिधि सभामा उनी पक्षका धेरैभन्दा धेरै सांसद चुनिएर आउनुपर्छ । टिकट बाँड्ने मुख्य व्यक्ति देउवा भएकाले थापालाई सजिलो छैन ।

तर, देउवाको साथ पाएमा थापाको भविष्यमा सम्भावनाको ढोका खुल्न सक्छ । तर, उनी देउवाविरोधी शेखर कोइराला समूहमा छन् । शेखर कोइराला समूहमा पनि उनीभन्दा सिनियर नेताहरु छन् ।

गगन थापाले प्रधानमन्त्रीमा बाजी मार्न काँग्रेसभित्र चुनाव अघि र पछि दुवैमा बलियो पकड बनाउनुपर्ने चुनौती छ । त्यो सजिलो छैन । उनलाई यसै पनि काठमाडौं ४ को चुनाव यसपटक सजिलो छैन । गगन थापा प्रधानमन्त्री अबको चुनावपछि नै बन्न नसक्ने होइनन् तर त्यो सजिलो छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot