Logo

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध



काठमाडौँ,५ साउन । निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नंं १ स्थित उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, “यस सडकको वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध पारेको छ ।”

गए रातिदेखि परेको अविरल वर्षा अझै नरोकिँदा पहिरो जाने तथा लेदो खस्ने क्रम जारी रहेको उनको भनाइ थियो । पानी परिरहेकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेमा उक्त सडक कटान गर्न सक्ने सम्भावना छ । पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ । प्रहरीका अनुसार सडक अवरुद्ध भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन । गत वर्ष र असार पहिलो साता गएको बाढीले डुम्रे–बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडक सञ्चालन हुँदै आएको थियो तर उक्त वैकल्पिक सडकसमेत बाढी र पहिराको चपेटामा परेको छ । गन्तव्यमा बिहानै जान लागेका यात्रु सडक अवरुद्धका कारण समस्यामा परेका छन् । पानी नरोकिएसम्म अवरुद्ध सडक खुलाउन असम्भव हुने बताइएको छ ।

वैकल्पिक सडकसमेत अवरुद्ध हुन थालेपछि काठमाडौँ, पोखरा, चितवनलगायत बेँसीसहर आवत–जावत गर्ने यात्रुलाई सास्ती भएको छ । उक्त सडकबाट मनाङवासी यात्रा गर्दै मनाङ पुग्ने गर्दछन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटरको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot