Logo

निर्वाचित प्रधानमन्त्री, संघीयता खारेजी, राजासहितको प्रजातन्त्र नै राप्रपाको बटमलाइन होः राप्रपा नेता



काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुवबहादुर प्रधानले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संघीयता खारेजी, राजासहितको प्रजातन्त्र नै आफ्नो पार्टीको बटम लाइन भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता प्रधानले भने, “हिजोबाट प्रारम्भ भएको हाम्रो पार्टीको बैठकमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । पार्टीको केन्द्रीय समितिले सबैको रायलाई समेटेर आवश्यक परिमार्जनसहित पारित गर्छ । निर्वाचित प्रधानमन्त्री, संघीयता खारेजी, राजासहितको प्रजातन्त्र नै राप्रपाको बटमलाइन हो ।”

राप्रपाले संसदीय व्यवस्था अस्वीकार नगरेको पनि उनको दाबी छ । प्रधानले भने, “मुलुकका लागि कुन व्यवस्था उपयुक्त छ र जनताले अपनत्व लिन सक्छन्, सक्दैनन्, राप्रपाको विचार त्यही हो । प्रदेश खर्चिलो भयो । संसदीय गणितका आधारमा प्रधानमन्त्री बनाउँदा जनताको इच्छा आकांक्षा पूरा हुन नसकेको, भ्रष्टाचार र विकृति बढेको सबैले महसुस गरेकै कुरा हो ।”

आगामी संघ र प्रदेशको निर्वाचनमा कमल थापाको राप्रपा नेपालसँग सहकार्य हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “राजनीतिमा असम्भव कुरा केही पनि हुँदैन । कमल थापा हाम्रो पार्टीका पूर्वअध्यक्ष हुनुहुन्छ । राष्ट्रवादी चिन्तन भएको दलसँग सहकार्यको सम्भावना नकार्न मिल्दैन । सबैसँग सहकार्यका ढोका खुलै रहन्छन् ।”



प्रतिक्रिया दिनुहोस्