Logo

सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण



काठमाडौं, साउन ६ । सरकारले स्वदेशी तथा विदेशी नागरिकका लागि यो मौसममा २७ वटा हिमाल आरोहण गर्न स्वीकृति दिए पनि आरोहण भन्नु सगरमाथा मात्र हो भन्ने देखिएको छ। यो वर्ष हिमाल आरोहणमा आएका स्वदेशी विदेशी आरोहीको संख्या हेर्दा सगरमाथाबाहेक अन्य हिमालप्रति उनीहरूको खासै रुचि देखिदैन।

पर्यटन विभागको तथ्यांक अनुसार यस वर्ष हिमाल आरोहण गर्नेहरू मध्ये एक तिहाइले सगरमाथा आरोहण गरेका थिए। यो वर्ष ९गत मे २६ सम्म० २७ वटा हिमाल आरोहण गर्न ९ सय ८६ स्वदेशी विदेशी आरोही गएकामा ३ सय २५ जना सगरमाथा आरोहणका लागि गएका थिए। सरकारले अहिलेसम्म ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ तर यो वर्ष आरोहीले २७ वटा हिमाल मात्र आरोहण गर्न अनुमति माग गरेका थिए।

‘अन्य हिमालको तुलनामा सगरमाथा आरोहणमा धेरै रुचि देखिन्छ’, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नागरिकसँग भने(‘आरोहीको रुचि कम भए पनि सरकारले खुला गरेका हिमाल आरोहणमा फेरि रोक लगाउने कुरा भएन।’ यो वर्ष कोरोना महामारीका कारण पनि हिमाल आरोहीको संख्या बढ्न नसकेको हो।

विभागका अनुसार यो सिजनमा हिमाल आरोहण गर्न ४४ समूहमा ९ सय ८६ जना गएका थिए। यसमध्ये २ सय ५१ पुरूष र ७४ महिला थिए। सगरमाथा आरोहण गर्ने कुल संख्या मात्र बढी होइन महिला आरोहीहरूको संख्या पनि उल्लेख्य छ। सगरमाथा आरोहण गर्न जानेहरू मध्ये कुल संख्याको २२ प्रतिशतभन्दा बढी महिला छन्।

यस्तै सरकारले हिमाल आरोहणबाट उठाउने राजस्व पनि सगरमाथाबाटै बढी असुली भएको छ। यो मौसममा सरकारले आरोहणबाट कुल ४९ करोड ३७ लाख रूपैयाँ राजस्व असुली गरेको छ। यसमध्ये सरगरमाथा आरोहणमा जानेबाट मात्र ४० करोड ७७ लाख रूपैयाँ संकलन भएको हो। यो कुल राजस्वको ८३ प्रतिशत हो।

विभागको तथ्यांक अनुसार यो मौसममा सगरमाथापछि सबैभन्दा धेरै आरोही ल्होत्से हिमाल चढ्न गएको देखिन्छ। ल्होत्से हिमाल आरोहणमा १५ टिमका १ सय ३५ जना गएकामा ३२ जना महिला थिए। सरकारले यो हिमाल आरोहणबाट २ करोड ८६ लाख रूपैयाँ राजस्व पाएको छ।

यो वर्ष सगरमाथा र ल्होत्सेबाहेक कुनै पनि हिमालले आरोहीलाई आकर्षित गर्न सकेको देखिदैन। यी दुई हिमालबाहेक अन्य २५ हिमालमध्ये कुनै पनि हिमालमा यो वर्ष एक सय जना आरोही गएका छैनन्। सरकारले २७ वटा हिमाल खुला गरे पनि यो तथ्यांकले धेरै हिमालमा आरोहीको रुचि नभएको देखाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्