Logo

“भोलि अर्थमन्त्रालयको सीसीटीभी फुटेज सार्वजनिक भयो भने त्यसको जिम्मा कसले लिने ?”



काठमाडौं, ६ साउन । नेकपा एमालेका नेता खगराज अधिकारीले संसदीय विशेष समितिका सदस्यले आचारसंहिता पालना नगर्ने र पक्षधरता देखाइरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, :विशेष समितिलाई १० दिनको समय पर्याप्त थिएन । सात दिन थपिएको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले विशेष समितिमा के भन्नुभयो भन्दा पनि त्यस्तो काम गर्नुभयो कि भएन, त्यो महत्त्वपूर्ण हो । मैले समितिमा भइन्जेल आचारसंहिता पालना गर्नुपर्छ । आचारसंहिता पालना नगर्ने वा पक्षधरता देखाउने काम मबाट हुँदैन । अहिले मलाई भन्न नलगाउनूस् । हामीले प्रतिवेदन सार्वजनिक त गरौंला । तर भोलि सीसीटीभी फुटेज सार्वजनिक भयो भने त्यसको कसले जिम्मा लिने ?”

आफ्नो पार्टी गठबन्धन गर्नेभन्दा पनि एकल बहुमत ल्याउने गरी अघि बढेको अधिकारीले बताए । अधिकारीले भने, “हामी कसैलाई व्यक्तिगत दुश्मन पनि ठान्दैनौं, निषेधको राजनीति पनि गर्दैनौं । राष्ट्रविरोधी गतिविधिको समर्थन पनि गर्दैनौं । अहिले हाम्रो ध्यान पार्टी संगठनलाई सदृढ र बलियो बनाउनेमै केन्द्रित छ ।”

परराष्ट्र मन्त्रालयकी प्रवक्ताले एसपीपीबारे अध्ययन गर्ने भन्नु षडयन्त्र र दाउपेच भएको आरोप पनि उनले लगाए । उनले भने, “मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने भनेको सुनेको हुँ । तर अहिले परराष्ट्र मन्त्रालयकी प्रवक्ताले एसपीपीबारे अध्ययन गर्ने भन्नु षडयन्त्र र दाउपेच हो । नेपाली कांग्रेस अहिले पनि सबै कन्टेन्ट त्यही राखेर एसपीपीको बाजागाजासहित स्वागत गर्ने वा सुटुक्क गर्ने अवस्थामा छ । सरकारले अझै पनि अमेरिकालाई पत्र लेखेको छैन । परराष्ट्र नीतिको सञ्चालनबाट पनि गठबन्धन मुलुकका लागि अभिशाप भएको छ ।”



प्रतिक्रिया दिनुहोस्