Logo

फूलबारी रिसोर्ट लिलामी रोकियो



पोखरा, साउन ६ । पोखराको पाँचतारे फूलबारी रिसोर्ट लिलाम प्रक्रियामा उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश धिरबहादुर चन्दको इजलासले बिहीबार अन्तरकालीन आदेश जारी गर्दै अन्तरिम आदेशका लागि आगामी १५ साउनमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । सो दिनसम्म लिलामी प्रक्रिया अघि बढ्ने छैन ।

२०५५ सालमा लिएको १ अर्ब ३१ करोड तिर्न नसकेपछि ऋण दिने बैंकले रिसोर्ट लिलाम प्रक्रिया अघि बढाएका थिए । बैंकले अघि बढाएको प्रक्रियाअनुसार धितो लिलामीका लागि गोप्य शिलबन्दीमार्फत आवेदन दिने बिहीबार अन्तिम दिन थियो ।

रिसोर्ट सञ्चालक पियुषबहादुर अमात्यले लिलाम प्रक्रिया रोक्न गत २४ असारमा काठमाडौं जिल्ला अदालत र उच्च अदालतमा ४ साउनमा निवेदन दिएका थिए । त्यसबमोजिम उच्चमा बिहीबार नै सुनुवाइ भएको हो ।

यता, जिल्ला अदालत काठमाडौंका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले बुधबार र बिहीबारको सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेस“गै ‘लिखत प्रमाण’ झिकाउने आदेश दिएको छ ।

रिसोर्टमा नेपाल बैंक नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक (साबिकको एनआईडीसी डेभलपमेन्ट बैंकसमेत) र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड ऋण लगानी गरेका थिए । जसमध्ये नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड, कर्मचारी सञ्चय कोषले ३१ करोड लगानी गरेका थिए । हाल, सो ऋणको साँवा र ब्याज गरी ४ अर्बभन्दा बढी पुगेको छ ।

नेपाल बैंकले गत ३ असारमा रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमतीको नाममा रहेको धितो लिलामी सूचना प्रकाशित गरेको हो । ऋण तिर्न पटकपटक म्याद थप गर्दासमेत नतिरेपछि लिलामी गर्नुपरेको नेपाल बैंकले जनाएको छ ।

बैंकले रिसोर्टको चलअचल सम्पत्ति, आफ्नो र श्रीमतीको नाममा रहेको जग्गासमेत लिलाम गर्ने भएपछि अमात्यले लिलामी सूचना निकाल्ने बैंकविरुद्ध अदालतको ढोकासम्म पुगेका हुन् ।

बैंकले निकालेको लिलामी सूचनाअनुसार गोप्य सिलबन्दी पेस गर्ने अन्तिम दिनसम्म एउटा मात्रै निवेदन पेस भएको जनाइएको छ ।
नेपाल भ्रमण सन् १९९८ लक्षित गरी सञ्चालित रिसोर्टमा बैंकले सञ्चालनमा आएको वर्ष नै ऋण लगानी गरेका थिए । बैंकले पोखरा–१५ स्थित रिसोर्ट तथा यसले चर्चेको १ सय २४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्नेगरी बैंकले लिलामी राखेको छ । ४ सय रोपनी जग्गामा फैलिएको रिसोर्टमा १ सय ६५ कोठा छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot