Logo

युवराज सफललाई धमलाको प्रश्नः “वामदेव गौतमलाई कारबाही गर्ने तपाईंको हैसियत के हो ?”



काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक युवराज सफलले वामदेव गौतमलाई राजनीतिक कारबाही गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सफलले भने, “वामदेव गौतम पुरानो नेकपालाई ब्युँताउने, त्यसबाट शक्ति आर्जन गर्ने र प्रधानमन्त्री बन्ने षडयन्त्रतिर मात्र लाग्नुभयो । उहाँ माधव नेपाल, प्रचण्ड, केपी ओलीकहाँ जानुभयो । तर मोहन वैद्य, विप्लव, सीपी मैनाली, नारायणमान बिजुक्छेकहाँ किन जानुभएन ? नेपालमा तीन वटा पार्टी मात्र कम्युनिस्ट हो ? अरुसँग किन संवाद गर्नुभएन ? मनपरी गर्न पाइन्छ ? ५ वटा पार्टीको अभियानमा ४ वटा पार्टीले उहाँलाई राजनीतिक कारबाही गरेको हो ।”
उनले समाजवादी केन्द्र बनाउने आफ्नो बटमलाइनलाई प्रचण्ड, बाबुराम भट्टराई र माधव नेपालले पछ्याइरहेको दाबी पनि गरे । सफलले भने, “असार १८ पछि हामीले विभिन्न कम्युनिस्ट घटकहरुसँग वार्ता गरिरहेका छौं । माधव नेपालसँग भेट्यौं, बाबुराम भट्टराईसँग सम्पर्क गरिरहेका छौं । यहाँ गफ गर्नेको प्रचार छ, काम गर्नेको छैन । समाजवादी केन्द्र बनाउने हाम्रो बटमलाइनमा अहिले प्रचण्ड, बाबुराम र माधव नेपाल हिँडिरहनुभएको छ ।”
संयोजक सफलले नेपालमा कोही पनि सच्चा कम्युनिस्ट नभएको पनि दाबी गरे । उनले भने, “नेपालमा कोही पनि सच्चा कम्युनिस्ट छैनन् । हिजो पनि कम्युनिस्टहरु मिलेको होइन । प्रचण्ड र ओलीको स्वार्थ मिलेको हो । चाइना वा अमेरिकाले भनेको भरमा मिलेर हुँदैन । हामी देश लुट्ने, जनता ठग्ने कामको विरुद्धमा छौं । साथै उनले कसैबाट परिचालित हो भन्ने पुष्टि भए आफू २४ घन्टाभित्र देश छाड्न तयार रहेको पनि बताए ।”



प्रतिक्रिया दिनुहोस्