Logo

केवल पदका लागि गरिने तालमेल जालझेल होः डा. भीम रावल



काठमाडौं, ८ साउन । नेकपा एमालेका नेता डा. भीम रावल केवल चुनाव जित्न गरिने गठबन्धनले मुलुकलाई राजनीतिक संकटतिर धकेल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “अहिले नेता विशेषलाई जिताउन लागि संविधानको धारा २६९ विपरीत गठबन्धन गरिएको छ । यो त दाल, चामल, कोदो एकै ठाउँमा मिसाएजस्तो हो । समान सिद्धान्त, विचारधारा, दर्शन मान्नेहरुबीच पो गठबन्धन हुन्छ । राष्ट्रिय जनमोर्चा संघीयता अभिशाप हो भन्छ भने अरु चार दल के भन्छन् ? आफैंले प्रतिक्रियावादी भनेको कांग्रेससँग माओवादी केन्द्र किन अँगालो मारेर हिँड्छ ? झ्यासमिस भएर कसरी जाने ? पूर्व र पश्चिम जानेले बीचमा बाँडेर खानका लागि गरेको तालमेल जालझेल हो ।”
हिजो नेकपा एमालेले पनि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तालमेल गरेर जिताएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा डा. रावलले भने, “नेकपा माओवादी केन्द्र र एमाले समान कार्यक्रम भएका पार्टी हुन् । तर राजेन्द्र लिङ्देनलाई समर्थन गलत थियो । दुर्गा पौडेलले पनि गर्नुहुँदैनथ्यो । स्थानीय तहमा कमल थापाको राप्रपा नेपाल वा परिवार दलसँग तालमेल गर्नु पनि गलतै हो ।”
नागरिकताका सम्बन्धमा एमालेले दोहोरो चरित्र नदेखाएको पनि उनले दाबी गरे । डा. रावलले भने, “प्रचण्डले नागरिकता समस्या समाधान गरें भनेर फूर्ति गरिरहनुभएको छ । उहाँले समस्या समाधान गर्नुभयो कि बल्झाउनुभयो ? राज्यव्यवस्था समितिमा दुई वर्षसम्म बहस भयो । जन्मसिद्ध (वंशज) का आधारमा नागरिकता दिइएन भन्ने कुरा झूटो हो । नेपाली कांग्रेससँग अँगालो मारेर भाजपासँग साझा कार्यक्रम गर्छु भन्ने प्रचण्ड नै देश सिध्याउने नेता हुने स्थिति आयो ।”
नागरिकतामा महिलालाई विभेद गरेको भन्नु पनि षडयन्त्र भएको एमाले नेता डा. रावलको टिप्पणी छ । उनले थपे, “नेपाल भारत र चीनजस्तो विशाल जनसंख्याको बीचमा छ । यस्तै गर्दै गए जनसंख्याको राजनीति डरलाग्दो समस्या हुन्छ । नागरिकतामा भारतको मात्र कुरा गर्न खोजेको भनिन्छ । तिब्बतीहरु पनि नेपालमा त्यत्तिकै संख्यामा छन् । महिलालाई विभेद भनेको पनि महिला–पुरुषको द्वन्द्व बढाएर राष्ट्रियतालाई तिलाञ्जली दिने षडयन्त्र हो ।” उनलाई एसपीपीबारे अमेरिकालाई पत्र पठाउन एमालेले नरोकेको पनि प्रस्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्