Logo

प्रयोगात्मकमा ‘सी’ र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए मूल प्रमाणपत्र नपाइने



काठमाडौं, साउन ८ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् ।

कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ । ननग्रेडेड अंक नकटाएसम्म एसईई उत्तीर्ण भएको प्रमाणपत्र पाउँदैनन् । लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था गरेको छ ।

यो कार्यविधि यो साता प्रकाशित हुने तयारीमा रहेको एसईई परीक्षामा लागु हुनेछ । कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो ।

बोर्डले समग्रमा प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र दिइने छैन । ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट एभरेज) उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था छ । गत वर्षसम्म ९ समूह कायम रहेको कार्यविधि एकाएक परिवर्तन गरी ८ समूह छ । यो वर्ष डी प्लस, ई प्लस र ई समूह हटाइएको छ ।

बोर्डले गएको वर्षको लब्धाङ्कपत्रमा सबै विषयमा परीक्षा दिएको उल्लेख गरेर मूल प्रमाणपत्र उपलब्ध गराएको थियो । अब माथिल्लो कक्षा अध्ययन गर्न मूल प्रमाणपत्र पाउनैपर्छ । सय पूर्णाङ्कको विषयको परीक्षा दिएमा सैद्धान्तिकमा २६ दशमलव २ र प्रयोगात्मकमा १० अंकभार ल्याउनैपर्छ ।

गत वर्षसम्म परीक्षामा प्रयोगात्मकमा २५ अंकभार ल्याएर सैद्धान्तिकमा १० अंक ल्याए पनि माथिल्लो कक्षा अध्ययन गर्न पाउने व्यवस्था थियो ।

नयाँ व्यवस्थाको कारण कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या ह्वात्तै घट्ने देखिएको छ । नयाँ कार्यविधिमा डी प्लस हटाइएको छ । ए प्लसदेखि सी सम्म १० अंकको फरक गरिएको छ भने डी मा ५ अंकको फरक उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्