Logo

प्रचण्डजी आलोपालो प्रधानमन्त्रीका निम्ति एमाले र कांग्रेस दुवैतिर ‘बार्गेनिङ’ गरिरहनुभएको छः आनन्द पोखरेल



काठमाडौं, ९ साउन । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले नेपाली कांग्रेसलाई कमजोर बनाउने गरी एमालेबाहेकको ‘लेफ्ट फोर्स’ नबन्ने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने, “अहिलेको पाँच दलीय गठबन्धन प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवाले बनाएको होइन । पश्चिम र दक्षिणले बनाइदिएको हो । त्यसैले कांग्रेस कमजोर हुनेगरी एमालेबाहेकको अर्को लेफ्ट फोर्स बनाउने अनुमति उनीहरुले दिँदैनन् । प्रचण्डले आलोपालो प्रधानमन्त्रीका लागि कांग्रेस र एमाले दुवैसँग बार्गेनिङ गरिरहनुभएको छ । आफ्नो शिरमा हेगको तरबार झुन्डाएकाले उहाँ भारतसँग पनि बार्गेनिङ गर्नुहुन्छ, अमेरिकासँग पनि बार्गेनिङ गर्नुहुन्छ, चीनसँग पनि बार्गेनिङ गर्नुहुन्छ ।”
नेकपा एमालेले माओवादीसँगको गठबन्धन परिकल्पना नगरेको पनि उनले खुलाए । पोखरेलले थपे, “एमाले आगामी निर्वाचनमा गठबन्धन बनाउनुपर्छ भन्ने मान्यतामा छैन । माओवादीसँगको गठबन्धन परिकल्पना गरेको पनि छैन । माओवादी केन्द्रका प्रचण्डबाहेक जुनसुकै नेताले जेसुकै कुरा गरे पनि निर्णयमा पुर्याउन सक्दैन । गठबन्धन गर्ने हो भने प्रचण्डजी दक्षिणपन्थी अवसरवादी गठबन्धनबाट बाहिर आउनुपर्यो । छाडेर आउनुभयो भने हामी तयार छौं ।”
शेरबहादुर देउवा मुलुककै नालायक प्रधानमन्त्री भएको आरोप पनि उनले लगाए । पोखरेलले भने, “वरिष्ठता मिचेर देउवा र प्रचण्डको अंगरक्षक एसएसपीमा बढुवा भएका छन् । लाइक र डिसलाइकका आधारमा बढुवा गरेर प्रहरीको मनोबल घटाउने कदमको म दुःख व्यक्त गर्छु ।”
जनार्दन शर्मालाई चोख्याएर पुनः अर्थमन्त्री बनाउने प्रपञ्च गरिएको पनि एमाले नेता पोखरेलले बताए । उनले भने, “बजेट निर्माणका सन्दर्भमा बिचौलिया राखेर करको दर हेरफेर गर्ने राष्ट्रघात, राज्यद्रोह र संगीन अपराध हो । उहाँको कल डिटेल हेर्न सत्तापक्षले अवरोध गरेर गणितका आधारमा चोख्याएर फेरि मन्त्री बनाउने हो भने त्यसको मूल्य मुलुकले चुकाउनुपर्नेछ ।”



प्रतिक्रिया दिनुहोस्