Logo

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने



काठमाडौं, साउन ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।

लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) ले आइतबार आफ्नो सामाजिक सन्जालमार्फत पारससहित विश्वका चर्चित क्रिकेटरले दोस्रो संस्करणमा खेल्ने पुष्टि गरेको हो।

न्युजिल्यान्डका इयान बट्लर, मिचेल म्याकक्लेनघन, जिम्बाब्वेका इल्टन चिगुम्बरा, क्रिस्टोफर एमपोफु, श्रीलंकाका धमिका प्रसाद, चामिन्दा दास, भारतका लक्ष्मीरतन शुक्ला र नेपाली क्रिकेटका पारस खड्कालाई दोस्रो सिजनका लागि थपिएको हो। पारसले गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।

उनको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो भने एकदिवसीय मान्यता पनि प्राप्त गर्‍यो।

गत हप्ता मात्र आयोजकले दक्षिण अफ्रिकाका डेल स्टेन, ज्याक कालिन, भारतका एस बद्रीनाथ, वीरेन्दर सेहवाग, इर्फान पठान, युसुफ पठान, प्रवीण ताम्बे, नमन ओझा, स्टुआर्ट बिन्नी, मोन्टी पानेसर, श्रीलंकाका लिजेन्ड मुरलीथरन र अफगानिस्तानका अस्गर अफगानले पनि लिजेन्ड क्रिकेट खेल्ने जनाएको थियो। लिजेन्ड क्रिकेट भारतमा सेप्टेम्बरदेखि अक्टोबरसम्म आयोजना हुनेछ।



प्रतिक्रिया दिनुहोस्