Logo

पूर्वमेयर विद्यासुन्दर शाक्यद्धारा कृष्ण मन्दिरको शिलान्यास



साउन ९, काठमाडौं । सांस्कृतिक सम्पदाले भरिपूर्ण जैशिदेवलस्थित श्रीकृष्ण मन्दिरको पुनः निमार्णका लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले सोमबार उक्त मन्दिरको शिलान्यास गरेका हुन् । सम्पदाको दृष्टिकोणले महत्वपूर्ण मानिएको श्रीकृष्णको मन्दिर भूकम्पका कारण जीर्ण अवस्थामा थियो ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिन लागिएको मन्दिरमा ५३ लाख ३० हजार दुई सय ४६ रुपैयाँ २१ पैसा लागत इष्टिमेट रहेको छ । मन्दिर निर्माणमा काठमाडौं महानगरपालिकाबाट ५० लाख ६३ हजार सात सय ३३ रुपैया ९० पैसा अनुदान स्वरुप प्राप्त हुने र बाँकि दुई लाख ६६ हजार पाँच सय १२ रुपैयाँ ३१ पैसाका लागि जनसहभागिता जुटाइने बताईएको छ ।

मन्दिरको लागि पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्नेको नाम शिलापत्रमा राखिने उपभोक्ता समितिले जनाएको छ । शिलान्यास कार्यक्रममा काठमाडौं महानगरपालिका २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, जैशीदेवल यूथ क्लबका अध्यक्ष राजेश प्रजापति लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्