Logo

काठमाडौं–तराई द्रुतमार्गः ‘२०८१ मंसिरसम्ममा सम्पन्न हुने आधार देखिएन’



काठमाडौं, साउन १० । काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक) आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन ७२ दशमलव ५ किलोमिटर (किमी) लामो द्रुतमार्गको ठेक्का व्यवस्थापनमै विलम्ब भएको भन्दै २०८१ मंसिरमा आयोजना सम्पन्न हुने आधार विश्वसनीय नभएको सरोकारवालाले बताएका हुन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यो आयोजनाका विषयमा सोमवार गरेको छलफलमा सांसदहरूले द्रुतमार्ग समयमै सम्पन्न हुने विषयमा शंका व्यक्त गरेका हुन् । पहिलो कार्यतालिका अनुसार आर्थिक वर्ष २०७८/७९ भित्रै ठेक्का व्यवस्थापन भइनसकेको, खोकनाको जग्गा प्राप्तिमै समस्या भएको जस्ता समस्या औंल्याउँदै उनीहरूले निर्धारित समयमा आयोजना सम्पन्न हुने सम्भावना कम देखिएको बताएका छन् । यद्यपि सेनाले भने २०८१ मंसिरभित्रै आयोजना सम्पन्न हुने दाबी गरेको छ ।

रक्षासचिव किरणराज शर्माले निर्धारित समयमै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे । द्रुतमार्गको शुरू बिन्दु खोकनामा अझै पनि ४२७ रोपनी जग्गा प्राप्त गर्न नसकिएको भन्दै उनले यसमा सघाउन समितिलाई आग्रह गरेका छन् । समितिकी सभापति कल्याणीकुमारी खड्काले गत आर्थिक वर्षको प्रगति उत्साहजनक देखिए पनि समग्र आयोजनाको प्रगति कम भएको बताइन् । सेनालाई सरकारले जिम्मा दिएको ५ वर्ष बित्दा समेत प्रगति सुस्त देखिएको उनको भनाइ छ ।

यसैगरी गौरवका आयोजनालाई अन्य आयोजनाको तुलनामा विशेष व्यवस्था गर्न सरकारलाई सुझाइए पनि सम्बोधनमा चासो नदिइएको उनको भनाइ छ । आयोजना समयमै सम्पन्न गर्न चालू आर्थिक वर्ष २०७९/८० को ठोस कार्यतालिका तत्काल बनाउन उनले निर्देशन दिइन् ।

आयोजना प्रमुख तथा प्राविधिक सहायक रथी विकास पोखरेलले प्याकेज ६/७ नम्बरको ठेक्का व्यवस्थापन कात्तिकसम्ममा सकिने र खोकना क्षेत्रमा पर्ने ११ प्याकेजको भने विवाद समाधान भएपछि मात्रै ठेक्का निकालिने बताए । आयोजनामा हालसम्म २१ दशमलव १८ प्रतिशत प्रगति हुँदा ३७ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको उनले जानकारी गराए । यद्यपि सेनालाई ठेक्का हस्तान्तरण गरेपछि भने ३४ अर्ब २९ करोड रुपैयाँ खर्च गरिएको उनले बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्