Logo

आयात नियन्त्रणमा सरकारी कदम असफल



काठमाडौं, साउन १० । सरकारले आयात नियन्त्रणका लागि विभिन्न नीतिगत कदम चाले पनि मुलुकको वार्षिक व्यापारघाटा २३ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ ।

आयातनिर्यातको अभिलेख राख्ने सरकारी निकाय भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ९आव० २०७८/७९ मा नेपालको वैदेशिक व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

गत आवमा संसारका विभिन्न मुलुकबाट १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । निर्यात २ खर्ब ३ करोड रुपैयाँभन्दा माथि छ ।

आयात अस्वाभाविक रूपमा बढेर विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले गत पुसदेखि नै आयात नियन्त्रण गर्ने नीति लिएको थियो । पुस ५ गते नेपाल राष्ट्र बैंकले २० हार्मोनिक कोडअन्तर्गतका वस्तुको आयात एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसअघि मङ्सिरमै डकुमेन्ट एगेन्स्ड पेमेन्ट ९डीएपी० र डकुमेन्ट एगेन्स्ड एसेप्टेन्स ९डीएए० जस्ता माध्यमबाट गर्न पाइने भुक्तानी रकमको सीमा घटाएको थियो ।

राष्ट्र बैंकले माघ २६ गते एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने वस्तुको संख्या थप गर्‍यो । चाँदी आयातमा त्यसअघि नै कडाइ भइसकेको थियो । गत चैतको चौथो साता व्यक्तिगत प्रयोजनका सवारीसाधन र विलासी वस्तु आयातका लागि एलसी नै नखोल्न राष्ट्र बैंकका अधिकारीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनौपचारिक निर्देशन दिएका थिए ।

त्यति गर्दा पनि आयात कम नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल, निजी प्रयोजनका सवारीसाधन, खेल्ने तास, तयारी मदिरालगायत १० वस्तुको आयातमा असारसम्मका लागि प्रतिबन्ध लगाएको थियो । तैपनि अघिल्लो वर्षको तुलनामा २४ दशमलव ७२ प्रतिशतले आयात बढेको भन्सारको तथ्यांकले देखाउँछ ।

ती १० वस्तु आयातमा प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि लम्ब्याइएको छ । गतवर्ष निर्यात पनि उल्लेख्य बढेको छ । तैपनि यसको आकार सानो हुँदा व्यापारघाटा न्यूनीकरणमा खासै योगदान गर्न सकेको छैन । गत आवमा निर्यात अघिल्लो वर्षको तुलनामा ४१ दशमलव ७४ प्रतिशतले बढेर २ खर्ब ३ करोड रुपैयाँ नाघेको छ ।



प्रतिक्रिया दिनुहोस्