Logo

खरानी देखि जनैसम्म आयात, कुल बजेटभन्दा बढी व्यापार घाटा



काठमाडौं, १० साउन । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधि सभाको बैठकमा देशको परनिर्भरताबारे गम्भीरता देखाउँदै खरानीसम्म आयात हुनथालेको विषय राखे । हुनपनि देशमै पाइने वस्तुहरुको पनि आयात हुन थालेको छ ।

खरानी मात्र नभई नेपालीहरुले धार्मिक प्रयोजनका लागि प्रयोग गर्ने जनै पनि आयात हुनथालेको खुलेको छ । फूलको साटो प्लाष्टिकको नक्कली फूलको समेत आयात हुने गरेको छ ।

जनै र प्लाष्टिकका फूल चीनबाट आयात हुन्छ । व्यवसायीहरु माग लिएर चीन पुग्ने र उतै उत्पादन गरी आयात गर्ने गर्दछन् । नेपालमै उत्पादन हुने र विगतमा निर्यात समेत हुने गरेको चामल, गहुँ, मकै पनि आयात हुन थालेको छ ।

चिउरा मात्र नभई दही पनि आयात हुने गरेको छ । दूधमा समेत देश आत्मनिर्भर हुन सकेको छैन ।

आत्मनिर्भरता यति धेरै बढेको छ कि व्यापार घाटा बढेर १७ खर्ब २० अर्ब पुगेको छ । यो अहिलेसम्मकै किर्तिमान हो । नेपालको गत आर्थिक वर्षको बजेट १५ खर्ब ६४ अर्ब थियो । व्यापार घाटा बजेटभन्दा झण्डै २ खर्बले बढी हो ।

पेट्रोलियम पद्धार्थ खरिदमा मात्र ३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । सोयाबिनको कच्चा तेल ४६ अर्ब, कच्चा पाल्म तेल ३३ अर्ब, सूर्यमुखी फूलको तेल साँढे १६ अर्ब रुपैयाँको आयात भएको छ ।

धान र चामल ४७ अर्ब ५७ करोड, गहुँ ५ अर्ब ६६ करोड, मकैं १९ अर्ब ६४ करोडको आयात भएको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्