Logo

‘प्रचण्डले जता गठबन्धन बनायो उसैको बहुमत’



काठमाडौं, १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्णायक शक्ति बनेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य संख्याका अलावा स्थानीय तहमा रहेको नेतृत्वको आधारमा माओवादी तेस्रो शक्ति देखिन्छ । तेस्रो शक्ति हुनुले नै प्रचण्ड निर्णायक शक्ति देखिएका छन् ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिए । जसका कारण वामपन्थी गठबन्धनले स्पष्ट बहुमत ल्यायो । यसपटक अवस्था बदलिएको छ ।

प्रचण्डले नेपाली काँग्रेससँग गठबन्धन बनाउने रणनीति बनाएका छन् । गठबन्धनमा नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा पनि छन् । पहिले समाजवादी केन्द्र बनाउने त्यसपछि कम्तिमा आधा सिट दाबी गरेर चुनावमा होमिने प्रचण्डको तयारी देखिन्छ । सकभर काँग्रेससँग नै तालमेल गर्ने तर विकल्पमा नेकपा एमालेसँग मिलेर जानेसम्ममा प्रचण्ड अगाडि बढिरहेका छन् ।

एक्लै चुनाव लड्दा काँग्रेस र एमालेले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उस्तै मत ल्याउने आँकलनहरु भएका छन् । गृहले तयार गरेको रिपोर्टमा पनि त्यस्तै छ । तर, कसैको पनि बहुमत आउने स्थिति छैन ।

गठबन्धनमा प्रचण्ड जता मिल्यो उसैको बहुमत आउने आँकलन गरिएको छ । यो गृहको गोप्य रिपोर्ट हो । तर, चुनाव यसपटक मुख्य दलहरुले आँकलन गरेजस्तो सजिलो छैन । नयाँ शक्ति र स्वतन्त्रहरु जर्बजस्ती आइरहेका छन् ।

शहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु सक्रिय देखिएका छन् । एउटै अनुहार र एउटै पार्टीले ३ दशक चहलपहल गरेबाट मतदाता असन्तुष्ट छन् यसकारण पनि धेरै ठाउँमा चुनावमा चमत्कारिक अवस्था बन्न सक्छ ।

 



प्रतिक्रिया दिनुहोस्