Logo

राजधानीको सडकमा फोहोरका पोका



काठमाडौं, साउन १० । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुन नसक्दा सडकमा पोका पारेर राखिएको छ । ल्याण्डफिल साइट पुग्ने बाटो निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागले एक साताअघि फोहोर बोक्ने सवारी नचलाउन आग्रह गरेको थियो ।

सोही आग्रहअनुसार काठमाडौं महानगरपालिकाले एक सातासम्म फोहोर ल्याण्डफिल साइट नलैजाने निर्णय गरेको थियो । कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सूचना जारी गरी एक सातासम्म घरमै फोहोर राख्न आग्रह गरिएको बताए ।

एक सातासम्म घरभित्र फोहोर राख्न असम्भव भएपछि महानगरवासीले बाटोमा फोहोर राखेका थिए । महानगरवासीले राखेको फोहोर वडा कार्यालयको संयोजनमा प्लास्टिकको झोलामा पोका पारी बाटोको साइडमा राखिएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले टेकु ट्रान्सफर स्टेसनमा फोहोर व्यवस्थापन गर्न असम्भव भएपछि बाटो किनारामा पोकापारी राखिएको जानकारी दिए ।

कामपा प्रवक्ता नवीन मानन्धरले विकल्प नभएपछि कामपाले प्याकिङ गरी व्यवस्थित रुपमा सडक किनारामा राखिएको बताए । उनले भने– ‘दुर्गन्ध नआउने गरी केमिकल राखेर व्यवस्थित किनारामा राखेका छौं ।’ एक दुई दिन मात्र बाटोमा राख्ने र त्यसपछि ल्याण्डफिल साइटमै लैजाने उनको भनाइ थियो ।

तर उनले भनेजस्तो पूर्ण रुपमा दुर्गन्धहिन देखिँदैन । ‘विभागले दिएको समय सकिन दुई दिन बाँकी छ, हामी तोकेकै दिन बञ्चरेडाँडामा फोहोर लैजाने तयारी गरेका छौं’ –उनले भने । महानगरपालिकाका अनुसार २ सय मिटर सडक पूर्ण रुपमा तयार हुन अझै केही दिन लाग्नेछ । यही अवस्था भए अर्को साता मात्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लैजान सकिनेछ ।

विभागले दिएको एकसाताको समयसिमा ११ गते सकिदैन । ५ गतेबाट बाटो निर्माण शुरु भएको थियो । कामपाले बिहीबारबाट फोहोर लैजानु अघि ल्याण्डफिल जाने सडकको अवस्थाबारे जानकरी लिन महानगर वातावरण व्यवस्थापन विभागको टोली सोमबार सिसडोल पुगेको थियो ।

टोलीले बाटोको अवस्थाबारे जानकारी लिएको थियो । बाटोको अवस्था हेर्दा यो सातासम्म ल्याण्डफिल साइटमा फोहोर लैजान सक्ने अवस्था नभएको टोलीका एक सदस्यले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्