Logo

नागरिकतामा कम्युनिस्टहरूले राजनीति मात्रै गरेः कांग्रेस नेता



काठमाडौं, १० साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले नेपालका कम्युनिस्ट पार्टीहरुले नागरिकतामा राजनीतिमात्र गर्दै आएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ढुंगानाले भने, “नेपालमै जन्मेका, जग्गा जमिन, घर भएकालाई नागरिकता किन नदिने ? जन्मसिद्धका आधारमा नागरिकता दिने चलन पञ्चायतकालमै सुरु भएको हो । तर नेपालका कम्युनिस्ट पार्टीहरुले २०४८ सालदेखि नै गैरनागरिकलाई नागरिकता दियो भन्दै हुइँया मच्चाएका छन् । उनीहरुले तराईमा बसेका सबै गैरनागरिक नै हुन् भन्ने कुरा उछाल्दै आएका छन् ।”
उनले २०१६ सालको दृष्टान्त पनि दिए । ढुंगानाले थपे, “२०१६ सालमा महेन्द्रनारायण निधि उपसभामुख हुनुहुन्थ्यो । उहाँले श्रीमतीका नाममा बैंक खाता खोल्न जाँदा नागरिकता खोजियो । यो कुरा राजासम्म पुग्यो । किन पाएन भनेर खोजी गर्दा कानुनले मिलेन भनियो । त्यसैले पञ्चायतकालमै नागरिकता सहजताका साथ दिइएको थियो । अहिले कम्युनिस्टहरु मधेसीलाई गैरनागरिकका रुपमा नकारात्मक ढंगले चित्रित गरिरहेका छन् । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले नागरिकता नपाए न बैंक खाता खोल्न पाउँछन्, न घरजग्गा किन्न सक्छन् र न त अरुकै स्वामित्व लिन पाउँछन् । यसमा संवेदनशील हुने कि नहुने ? पञ्चायतकालमा समाधान भइसकेका कुरामा किन बल्झाइरहने ?”
तर वंशजका आधार दिइने नागरिकताको दुरुपयोग हुन नहुने पनि कांग्रेस नेता ढुंगानाले औंल्याए । उनले थपे, “सधैं शंका गरेर नागरिकता नै नदिने त ? एमालेले सधैं नागरिकताको राजनीति गरिरहेको छ । हामीले प्रतिनिधिसभामा पास गरेर पठाएको नागरिकता विधेयक पनि राष्ट्रिय सभाबाट फेल गरिदियो । हामीले प्रतिनिधिसभामा फेरि पारित गरेर पठाउँदा राजाले लालमोहर लगाइदिएनन् । उनले अदालत पठाए ।”
आगामी प्रदेश र संघको निर्वाचनमा गठबन्धन आवश्यक रहेको पनि उनको जिकिर छ । ढुंगानाले भने, “लोकतन्त्र, राष्ट्रियता र संविधान बचाउनका लागि गठबन्धन आवश्यक छ । गठबन्धन गर्नुपर्छ भन्ने कुरामा कांग्रेसका नेता कार्यकर्ता सहमत छन् । गठबन्धनमा सिट बाँडफाँडको कुनै पनि समस्या आउँदैन ।”



प्रतिक्रिया दिनुहोस्