Logo

मार्ने धम्की पछि प्रहरीले कट्रिनाको सुरक्षा बढायो



एजेन्सी, १० साउन । अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । दम्पतीलाई धम्की दिने मनविन्दर सिंहलाई मुम्बईबाट प्रहरीले पक्राउ गरेको हो ।

विक्कीले आइतबार साँझ आफ्नो म्यानेजरमार्फत सान्ताक्रूज प्रहरी चौकीमा उजुरी दिएका थिए । यसमा विक्कीले एक व्यक्तिले आफ्नी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको बताएका छन् । उनले आफुलाई मार्ने धम्की पनि दिएको जानकारी प्रहरीलाई गराएका थिए ।

वास्तवमा कट्रिना कैफ आजकल फिल्म मेरी क्रिसमसको सुटिङमा व्यस्त छिन् । उनको फिल्मको सेट मुम्बईमा नै बनाइएको छ । उनलाई ज्यान मार्ने धम्कीको उजुरीपछि मुम्बई पुलिसको एक विशेष टोली कट्रिनाको मेरी क्रिसमसको सेटमा सुरक्षाका लागि खटाइएको छ।

केही दिनअघि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो । धम्कीपछि मुम्बई प्रहरीको विशेष टोली २४ घण्टा सलमान खानसँग बस्छ । यसै क्रममा सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टको वरिपरि एउटा टोली खटिएको छ ।

कट्रिना र विक्कीले गत वर्ष ९ डिसेम्बर २०२१ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए। दुवै सन् २०१९ देखि एकअर्कालाई डेट गर्दै थिए । वर्कफ्रन्टको कुरा गर्ने हो भने कट्रिना चाँडै सलमान खानसँग फिल्म ‘टाइगर ३’ मा देखिने छिन् । यसबाहेक उनी सिद्धान्त चतुर्वेदी र इशान खट्टरसँग ‘फोन भूत’ मा देखिनेछिन् ।

विक्की आजकल सारा अली खानसँग आफ्नो आगामी फिल्म ‘प्रोडक्सन नम्बर २५’ को सुटिङमा व्यस्त छन् । यस बाहेक विक्की चाँडै ‘गोविन्द नाम मेरा’, ‘द ग्रेट इन्डियन परिवार’ र निर्देशक लक्ष्मण उतेकरको अर्को अनटाइटल फिल्ममा देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस्