Logo

बालेन शाहसँगको तस्विरबारे राष्ट्रपति भण्डारीले पहिलोपटक मुख खोलिन्



काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नोबारेमा आएका विभिन्न समाचारका बारेमा बोलेकी छिन् । उनले पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र शाह र आफूबीच भेट भएको भनेर आएको तस्विरको समाचारका बारेमा समेत प्रष्ट पारेकी छिन् । सो तस्विरमा शाह र राष्ट्रपति भण्डारीबीच दूरी लामो देखिएको थियो । तर, राष्ट्रपति भण्डारीले भने आफूले मेयरमा निर्वाचित भएपछि शाहसँग भेट नगरेको स्पष्ट पारेकी छिन् । आज (मंगलबार) विभिन्न मिडियाका प्रकाशक/सम्पादकहरुसँगको भेटघाटको क्रममा उनले यस्तो स्पष्ट पारेकी छिन् ।

‘बालेन शाहसँग मैले मेयर भएपछि भेटेको छैन्, जुन तस्विर सार्वजनिक भएको थियो, त्यो उहाँ (बालेन) मेयर हुनुभन्दा पहिलेको हो, त्यो त अन्तर्राष्ट्रिय पानी दिवसको दिनको भेटको तस्विर हो । पूरानो तस्विर जोडेर समाचारबारे मलाई थाहा थिएन ।’ सप्तरीको छिन्नमस्ता मन्दिरको दर्शन गर्न जाँदा जुत्ता नेपाली सेनाले बोकेको तस्विर बाहिरिएको र त्यसबारेमा भएको नकारात्मक चर्चाको विषयमा पनि उनले आज मुख खोलेकी थिईन् । उनले आफू मन्दिर दर्शनको लागि एक द्धारबाट प्रवेश गरेको र अर्को द्धारबाट बाहिरिएको स्मरण गराउँदै भनिन्,‘म त एउटा द्धारबाट प्रवेश गरेर मन्दिरको दर्शन गरेर अर्को द्धारबाट निस्किएँ, त्यतिवेला जुत्ता उता लगिएको रहेछ, यसमा मेरो के गल्ती ?’

त्यस्तै, भुकम्प दिवस मनाउन जाने क्रममा गोरखाको बार्पाकमा आफूले लगाएको कालो चश्माको विषयमा भएको आलोचनाको विषयमा पनि उनले मुख खोलेकी छिन् । उनले आफूले कहिल्यैपनि महँगो गगल्स नलगाएको पनि स्पष्ट पारिन् । आफूलाई छोरीहरुले नै गगल्स उपचारस्वरुप दिने गरेको पनि भण्डारीले सुनाईन् । उनले आफूले सधैं नेपाली पोशाक नै लगाउने गरेको दाबी गरिन् ।

सो क्रममा उनले मुलुकले सामना गर्नुपरेका चूनौतिका बारेमा समेच चर्चा गरेकी थिईन् । उनले व्यापार घाटादेखि मुलुकको आर्थिक अवस्थाबारे चर्चा गरेकी थिईन् ।
उनले मुलुकको आर्थिक प्रणाली, शिक्षा, स्वास्थ्य, विदेश नीतिलगायतका आधारभूत सवालहरुमा राज्यले लिनुुपर्ने दिशाका बारेमा संविधानले स्पष्ट मार्गदर्शन गरेको भन्दै सोहीअनुसार चल्नुपर्ने बताएकी थिईन् । उनले राष्ट्रका सामू उपस्थित् अहम विषयहरुमा संविधानलाई शीरमा राखेर सबै राजनीतिक दलहरुबीच सहमति कायम हुनसक्ने कुराको पनि उल्लेख गरेकी छिन् ।

उनले आफूले संविधानको दायरा बुझेको भन्दै नागरिकतासम्बन्धी विद्येयकको बारेमा पनि आफूकहाँ आएपछि अध्ययन गर्ने अनिमात्रै धारणा बनाएर बोल्ने बताईन् । उनले भनिन्,‘नागरिकता विद्येयक अहिले मकहाँ आएको छैन्, पहिला म हेर्छु अनि मात्रै बोल्छु ।’ उनले नागरिकताको सवालमा पनि कतिपय विषय सम्बोधन गर्नुपर्ने कुरा उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले निर्वाचनलक्षित बन्ने गठबन्धनको विषयमा भने गठबन्धन के बन्छ र कस्तो बन्छ ? भन्ने आफ्नो चिन्ता र चासोको विषय नभएको स्पष्ट पारिन् । उनले भनिन्,‘मुख्य कुरा टाउकोले टेक्ने भन्दा पनि खुट्टाले जमिन टेक्ने कुरा ठूलो हो ।’ निर्वाचन महँगो भएको र करोडौं खर्च गर्नुपरेको भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हालै दिएको अभिव्यक्तिबारे पनि उनले चासो राख्दै निर्वाचनमा जनताको मत जित्ने हो भने पैसाको खर्चको कुरा नआउने बताईन् ।

‘पैसा किन खर्च गर्नुपर्यो ? जनताको मत जिते भैगयो नि ।’–उनको भनाई थियो,‘राष्ट्रलाई बलियो बनाए भैगयो नि ।’ सुरक्षा र परराष्ट्र नीतिको बारेमा खासै नबोलेकी उनले नेपालको अवस्था के हो भन्ने कुरा बुझ्न विदेश यात्रा गर्दा नेपालीले अध्यागमनमा भोग्नुपरेको समस्याको कुरा स्मरण गराएकी छिन् ।

उनले आफ्नो कार्यकालको समिक्षा गर्दा सुरुको कार्यकालमा संविधान कार्यान्वयनमा ध्यान दिएको बताईन् । उनले भनिन्,‘मेरो कार्यकालको समिक्षा गर्दा कतिपय कुरा मैले चाहेर पनि भएन । पहिलो कार्यकाल संविधान कार्यान्वनयमा गयो, पछिल्ला वर्षमा मैले ईमानदार प्रयास गरें । यो कुरा तपाईँहरुले हेर्नुहोस । बुझ्नुहोस ।’



प्रतिक्रिया दिनुहोस्