Logo

‘डिलिट’ भनिएको फुटेज रिकभर



काठमाडौं, साउन ११ । अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ ।

समितिका एक सदस्यका अनुसार गत १४ जेठका ५० वटा भन्दा बढी सीसीटिभी फुटेजका ‘क्लिप रिकभर’ भएका छन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि चालू आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।

बजेट निर्माणमा कर दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न नसकेपछि प्रहरीसँग सहयोग मागिएको थियो ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि गत १४ जेठको फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समिति बैठकमा सीसीटीभी फुटेज हेरिएको छ ।

समिति सचिव सुरेन्द्र अर्यालले विज्ञ बोलाएर रिकभरी फुटेज र प्रतिवेदन विश्लेषण गरिने बताए । समितिका एक सदस्यले भने प्राप्त सीसीटीभी फुटेज प्रस्ट नभएको प्रतिक्रिया दिए । ‘५०÷५५ वटा क्लिप रिकभर भएका रहेछन्, ती सबै राम्ररी बुझिने छैनन्,’ उनले भने ।

मंगलबार बिहान केहीबेर बैठक बसेपछि स्थगित भएको समितिको बैठक मंगलबार बेलुका ४ बजे पुनः बसेको थियो । बैठकमा समितिले प्रहरीले उपलब्ध गराएको रिकभर भएका फुटेज’दयगत फरेन्सिक विज्ञसँग छलफल गरेको थियो ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट रिकभर सीसीटिभी फुटेज प्रस्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो ।

मंगलबार साँझ समितिले दुई फरेन्सिक विज्ञसँग सोधपुछ गरेको थियो । बैठकमा सहभागी समिति सदस्यले प्राप्त भिडिओको गुणस्तर ‘किन कमजोर भएको हो? मिति पनि प्रस्ट नहुनुको कारण के हो?’ भनेर प्रश्न गरेका थिए ।

विज्ञले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएको समितिले जनाएको छ । विज्ञले यस्तो जवाफ दिएपछि अब के गर्ने भन्नेबारे थप छलफल गरी निर्णयमा पुग्ने समितिले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्