Logo

८० प्रतिशत मानिसमा कोरोना संक्रमित भए पनि लक्षण देखिँदैनः जनस्वास्थ्य विशेषज्ञ



काठमाडौं, ११ साउन । जनस्वास्थ्य विशेषज्ञ डा. बाबुराम मरासिनीले नेपालमा १५ दिन अघि नै कोरोनाभाइरसको चौथो लहर सुरु भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. मरासिनीले भने, “अहिले कोरोनाभाइरसको प्रजाति ओमिक्रोनको नयाँ उपप्रजाति बीए.५ देखा परेको छ । ६ सय संक्रमितले अस्पताल भर्ना हुने दर बढ्ने संकेत गरिसकेको छ । सबैभन्दा चिन्ताजनक कुरा त ८० प्रतिशत मानिसमा कोरोना संक्रमित भए पनि लक्षण देखा पर्दैन ।”
स्वास्थ्य मन्त्रालय ‘रिस्क कम्युनिकेसन’मा चुकेको पनि उनले बताए । डा. मरासिनीले भने, “सरकारी संयन्त्रले जोखिम सञ्चार गर्न सकेन । संक्रमितको संख्या घटेको हो, खतरा घटेको छैन भन्ने कुरा आम जनमानससम्म पुगेन । त्यसले कोरोना सिद्धियो क्यारे, खोप लगाइहालेका छौं, हामीलाई केही हुँदैन आम धारणा बन्यो । माक्स लगाउन छाड्नु, सामाजिक दूरी कायम नहुनु, जनस्वास्थ्यका मापदण्ड पालना नहुनुले समस्या ल्याउन सक्छ ।”
सरकारका तर्फबाट बिरामी धेरै भए कसरी व्यवस्थापन गर्ने भन्ने तयारी हुन नसकेको पनि डा. मरासिनीले औंल्याए । उनले थपे, “कोरोनाका लागि भनेर करारमा राखिएका कर्मचारी हटाइएको छ । टेकु अस्पतालले नै जनशक्ति छैन भनिरहेको छ । आवश्यक बेड र अक्सिजनको व्यवस्था हुनुपर्‍यो । फुर्सद नपाउने नागरिकका निम्ति खोप काउन्टर राति वा शनिबार पनि खोल्नुपर्‍यो ।”
श्वासप्रश्वासबाट सर्ने रोग नियन्त्रण सजिलो नभएको पनि डा. मरासिनीले बताए । उनले भने, “खोपले प्रतिरोधात्मक शक्ति कति बलियो बनाएको छ भन्ने थाहा हुन सकेको छैन । यसले शारीरिक कमजोरी भएकालाई छानीछानी समात्छ । श्वासप्रश्वासबाट सर्ने रोग नियन्त्रण सजिलो छैन । यसलाई सबैले मनन गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्