Logo

देउवाले फेरि पनि यिनै बदमासहरूलाई च्यापेर हिँड्ने हो भने कांग्रेस भड्खालोमा जाकिन्छः एमाले नेता



काठमाडौं, ११ साउन । नेकपा एमालेका नेता विशाल भट्टराईले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा निर्दोष ठहरिन नसक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “जनार्दन शर्माले देशप्रति गरेको गद्दारीका बारेमा हामीले धेरै पहिलेदेखि ध्यानाकर्षण गराउँदै आएका हौं । तर सत्तापक्ष सुन्दै सुनेन । बल्ल बल्ल राजीनामा दिनुभयो । प्रमाण लुकायो । सीसीटीभी फुटेजमा मान्छे चिनिएन । मान्छे आएको देखिने, को आएको भन्ने नचिनिने ? जनार्दन शर्मा कुनै पनि हालतमा निर्दोष ठहरिनुहुन्न । गोली लागेर मान्छे मरिसक्यो । बन्दुक हान्ने मान्छे निर्दोष कसरी हुन्छ ?”
फेरि पनि शर्मालाई नै अर्थमन्त्री बनाउन नमिल्ने पनि उनको जिकिर थियो । भट्टराईले भने, “मुलुकको अर्थतन्त्र कस्तो छ भन्ने बारेमा राष्ट्रको संरक्षक राष्ट्रपतिले नै बोल्नुपर्ने अवस्था आयो । ११ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिती शून्य हुने अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि यिनै बदमासहरुलाई च्यापेर हिँड्नुभयो भने नेपाली कांग्रेस पनि भड्खालोमा जाकिन्छ ।”
जति दलको गठबन्धन भए पनि नेकपा एमाले एक्लै लड्न समर्थ भएको दाबी पनि नेता भट्टराईले गरे । उनले थपे, “गठबन्धनमा अझै भ्यागुताको धार्नी पुगेको छैन । चुनावको मिति घोषणा हुन सकेको छैन । कांग्रेसकै नेताहरुले नै एक्लै लड्दा एकीकृत समाजवादीले १ सिट, माओवादी केन्द्रले ८ सिट जित्ने बताइरहेका छन् । गठबन्धनले प्राविधिक रुपमा सरकार बन्ला, देश बन्दैन । मूलतः एमाले एक्लै लड्छ । अरु कतातिर टाँस्सिन्छन्, टाँस्सिरहून् ।”

 



प्रतिक्रिया दिनुहोस्