Logo

राष्ट्रपतिले चुनावको मुखमा एमालेलाई मद्दत पुग्ने गरी बोल्न मिल्दैनः मन्त्री रेग्मी



काठमाडौं, ११ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावको मुखमा विपक्षी पार्टीलाई मद्दत पुग्ने गरी बोलेको आरोप लगाएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “राष्ट्रपति सेरेमोनियल पद हो । मुलुक चलाउने कार्यकारी प्रधानमन्त्रीले हो । राष्ट्रपतिले आजमात्र समस्या देख्नुभयो कि हिजो पनि बोल्नुभयो ? उहाँले त्यसरी बोलिरहनु जरुरी छैन । त्यसरी बोल्ने पनि होइन । सम्मानित संस्थाको व्यक्तिले चुनावको मुखमा अर्को पार्टीलाई मद्दत पुग्ने गरी बोल्नुहुँदैन । आजको सरकारका कारणमात्र अर्थतन्त्रमा अप्ठ्यारो परेको त होइन नि । विश्व अर्थतन्त्रमै समस्या आएको छ । विपक्षीले श्रीलंकाको हौवा फिँजाएर जनतामा डर, त्रास देखाएको मात्र हो ।”
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बचाउन सत्तापक्ष नलागेको पनि उनले स्पष्टीकरण दिइन् । रेग्मीले भनिन्, “अर्थमन्त्रीबारे छानबिन भइरहेको छ । अहिल नै उहाँ मन्त्रीमा फर्कने वा नफर्कने कसरी भन्ने ? संसदीय विशेष समितिमा प्रतिपक्षका सांसदहरु पनि हुनुहुन्छ नि । अनि कसरी बचाउन चलखेल हुन्छ ? प्रमाण बिना आरोप लगाउनु भएन, भएको कुरा लुकाउनु पनि भएन ।”
मन्त्री रेग्मीले सरकारले मंसिरमै चुनाव हुने गरी सरकारले तयारी थालेको पनि बताइन् । उनले थपिन्, “यो नेपाली कांग्रेसको मात्र सरकार होइन । गठबन्धन दलहरुसँग कुरा छिटै निर्वाचनको घोषणा हुन्छ र देश निर्वाचन प्रक्रियामा अगाडि बढ्छ । निर्वाचन आयोगले भनेको मितिमा एकै दिन हुन सक्छ ।”
आगामी निर्वाचनबाट कांग्रेसले बहुमत ल्याउने दाबी पनि उनले गरिन् । मन्त्री रेग्मीले भनिन्, “नेपाली कांग्रेस ठूलो पार्टी त बन्छ, बन्छ । गठबन्धनमा गएर बहुमत पनि ल्याउँछ । कांग्रेसप्रति जनताको आशा र भरोसा छ ।”
साथै उनले वामपन्थी पार्टीहरु जुटे पनि कांग्रेससँगको गठबन्धनमा समस्या नहुने बताइन् । रेग्मीले भनिन्, “पार्टीहरु फुटेको भन्दा जुटेकै राम्रो । पार्टी बलियो भए लोकतन्त्र पनि बलियो हुन्छ । गठबन्धन दलहरुले अहिले कांग्रेसलाई यति सिटभन्दा बढी पाउँदैनस् भन्न सक्दैनन् । सम्बन्धित क्षेत्रमा कुन पार्टी बलियो छ, त्यस अनुसार बाँडफाँड हुन्छ ।”

 



प्रतिक्रिया दिनुहोस्