Logo

हरेक वर्ष ५ लाख नयाँ जनशक्ति कहाँ जान्छन्



काठमाडौं, ११ साउन । यस वर्ष एसईई परीक्षामा सहभागी संख्या ५ लाखभन्दा बढी छ । कुल ५ लाख १४ हजारमध्ये कम्तिमा ५ लाख किशोरावस्थाका छन् ।

यो संख्यालाई आधार मान्ने हो भने हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी नयाँ जनशक्ति उत्पादन हुन्छन् । एक दशकभन्दा बढी विद्यालय शिक्षा लिएर आएकाहरुमध्ये अधिकांशले शिक्षा अगाडि बढाउँछन् । दश जोड दुई र स्नातकसम्म अध्ययन गर्दा थप ६ वर्ष जान्छ । त्यतिञ्जेल किशोरावस्था पार भइसक्छ ।

कतिपय युवा १० कक्षा पास गरेपछि काममा लाग्छन् र पढाई छाड्छन् । कतिपयले दश जोड दुई मात्र पढेर काम सुरु गर्छन् ।

देशमा रोजगारीको कम अवसरका कारण धेरै युवाहरुको चाहना यूरोप, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता देश जाने हुनेगरेको छ । कतिपय युवा खाडी मुलुक, मलेशिया, भारत जस्ता देशहरु जान्छन् जहाँ रोजगारी र शिक्षाको अवसर पाउने आशा गर्छन् ।

कुनैपनि देश बन्न त्यहाँ युवा जनशक्ति आवश्यक पर्छ । युवा जनशक्तिलाई दक्ष बनाई काम लगाउन सके मात्र त्यो देश समृद्ध बन्न सक्छ ।

नेपालमा प्रत्येक वर्ष उत्पादन हुने ५ लाखभन्दा बढी नयाँ जनशक्तिमध्ये आधाभन्दा बढीले स्वदेशमा अवसर पाउने सम्भावना देखिदैन ।

रोजगारीका अवसरहरु सिमित छन् । धेरैको चाहना सरकारी सेवामा हुन्छ । सरकारी सेवामा केही हजारले मात्र हरेक वर्ष अवसर पाउँछन् । बाँकी निजी क्षेत्रमा जान्छन् ।

कृषिमा थोरै युवाको मात्र आकर्षण देखिन्छ । उद्दोगधन्दामा पनि कमैमात्रको जाँगर देखिन्छ । बाँकी युवाहरुमध्ये अधिकांश भारततर्फ रोजगारीका लागि जान्छन् । अरब मुलुक जानको संख्या पनि उत्तिकै छ ।

एसईईपछि कति संख्यामा कुन विषयमा विद्यार्थीहरु लाने भन्ने राज्यसँग व्यवस्थित योजना नै छैन । भविष्यमा कस्तो जनसंख्या कति निकाल्ने र कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि ठोस योजना छैन ।

देशमा धेरै विद्यार्थीहरु पढाईमा पनि फेशनको शैलीमा दौडिएको देखिन्छन् । सही सल्लाह र परामर्श नपाएर यस्तो भइरहेको छ । जनशक्ति कम भएको विषय अध्ययन गर्नेतर्फ विद्यार्थीहरुलाई आकर्षित गर्ने योजना छैन । जसका कारण देशले जनशक्तिको सदुपयोग गर्न सकेको छैन ।

पछिल्लो समय नर्सिङ, होटल म्यानजमेन्ट जस्ता विषयमा विद्यार्थीको आकर्षण बढेको देखिन्छ । दश जोड दुईपछि डाक्टर, इञ्जिनियर बन्न चाहनेको ठूलो संख्या देखिन्छ । तर, रोजगारीको अवसरहरु यी क्षेत्रमा उत्पादनको तुलनामा घट्दो छ । कृषिमा लाग्ने जनशक्ति कम छ । तर, आकर्षण छैन । नर्सहरु बढी उत्पादन भइरहेका छन् । पछिल्लो समय कानून विषय अध्ययन गर्नेको बाढी नै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्