Logo

‘मदिरा आयात गर्न नदिँदा तस्करी बढ्यो, पर्यटन उद्योग प्रभावित’



काठमाडौं, साउन ११ । नेपाल पैठारीकर्ता संघले आयातित मदिराजन्य पदार्थहरुमा प्रतिबन्ध लगाउने सरकारको निर्णयले तस्करी बढ्ने बताएको छ।

संघका अध्यक्ष अनिल अग्रवालले विदेशी मदिरा नेपालमा प्रतिबन्ध लगाउँदा नक्कली उत्पादन र खुल्ला नाकाबाट मदिरा भित्रिने बताएका हुन्।

नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध यही साउन १ गतेबाट ४५ दिनका लागि थप गरेको छ।

मदिरा व्यवसायी सोनाम शेर्पाले विदेशीले आफूलाई बानी परेको मदिरा खोज्ने भएकाले प्रतिबन्ध गर्न नहुने बताए। उनले रोजगारी गुम्ने र ऋण लिएर व्यवसाय गरेका डुुब्ने बताए।

वितरक संघका अध्यक्ष राजेन्द्र सिम्खडाले पर्यटन प्रवर्द्धन गर्न विदेशी मदिरा आवश्यक रहेको बताए। उनले विदेशी नेपालमा मनोरञ्जन गर्न आउने भएकाले मदिरा प्रतिबन्ध लगाउँदा पर्यटक नआउने बताए।

बोतलबन्द आयातित मदिराजन्य पदार्थहरुमा वार्षिक लगभग १ करोड २० लाख अमेरीकी डलर मात्र खपत हुन्छ। जुन १५० करोडबराबर हो र यो वार्षिक बाहिरिने कुल विदेशी मुद्राको ०।१० प्रतिशत मात्र हुने संघले जानकारी दिएको छ। सरकारको निर्णयले राजस्व प्रभावित हुने पनि संघको दाबी छ।

आयातित मदिराजन्य पदार्थहरुबाट वार्षिक लगभग ३३० करोड राजस्व प्राप्त गर्छ जुनकि वार्षिक बाहिरिने विदेशी मुद्राको दुई गुणाभन्दा बढी हुने संघका अध्यक्ष अग्रवालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्