Logo

‘समाजवादी केन्द्र’को चुनाव चिन्ह के होला



काठमाडौं, ११ साउन । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका अलावा डा. बाबुराम भट्टराई र बामदेव गौतम मिलेर समाजवादी केन्द्र बन्ने निश्चितप्रायः भएको छ । चुनाव अगावै समाजवादी केन्द्र बनाएर जाने योजना मुताविक छलफलले गति लिएको छ ।

समाजवादी केन्द्रमा प्रचण्ड मुख्य नेता हुनेछन् । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईका अलावा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम पनि शिर्ष नेता हुने बुझिएको छ । केन्द्रले अध्यक्षमण्डल जस्तो बनाएर जाने तयारी गरिरहेको छ ।

चुनावमा जाँदा समाजवादी केन्द्रको चिन्हबारे पनि छलफल चलेको छ । कलम, आँखा जस्ता विकल्पहरु राखेर छलफल बढेको छ ।

समाजवादी केन्द्रको नाममा कम्युनिस्ट शब्द रहने कि नरहने विवाद चलेको छ । डा. बाबुराम भट्टराई कम्युनिस्ट शब्द राख्ने प्रस्तावको विपक्षमा छन् । कम्युनिस्ट शब्द प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल छाड्न तयार छैनन् ।

सत्ता गठबन्धनमा कम्तिमा आधा सिट तालमेलका लागि मागेर बढ्ने समाजवादी केन्द्रको तयारी छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये आधा समाजवादी केन्द्रको दाबी रहने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्