Logo

काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने



काठमाडौं, साउन ११ । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो ।

‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ’, महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो । त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो ।

महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोधसमेत गरेको थियो । अब भोलिबाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरू हुने महानगरले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्