Logo

राससलाई राष्ट्र र जनताको समाचारको संवाहकका रुपमा स्थापित गरिन्छ : कार्यकारी अध्यक्ष झा



काठमाडौँ,११साउन । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्रकुमार झाले राससलाई राष्ट्र र जनताको समाचारको संवाहकका रुपमा स्थापित गरिने बताएका छन् ।

राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राससलाई २१औँ शताब्दीको अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने समाचार एजेन्सीका रुपमा विकसित गरिने जानकारी दिए ।

अध्यक्ष झाले भने, “रासस राष्ट्र र जनताको समाचारको संवाहक बन्नेछ । समावेशीता, बहुलबाद र प्रेस स्वतन्त्रलाई हामीले आत्मसात् गर्ने प्रयास गर्नेछौँ ।”

उनले राससको अत्याधुनिक सुविधा सम्पन्न भवनको भरपुर उपयोग गर्दै सेवालाई समयसापेक्ष आधुनिकीकरण गरिने उनले जानकारी दिए । “यो भवन हाम्रा लागि अत्यन्तै महत्वपूर्ण रहनेछ । अत्याधुनिक सुविधा सम्पन्न भवनलाई लक्ष्यप्राप्तिको प्रतिकका रुपमा लिएका छौँ । सम्माननीय प्रधानमन्त्री ज्यू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सुदृढीकरणका लागि कति गम्भीर छन्, भन्ने कुराको उदाहरण उनी (प्रधानमन्त्री) बाट नै भवन शिलान्यास र समुद्घाटन भयो । यसले पनि के देखिन्छ भने वर्तमान सरकार र सम्माननीय प्रधानमन्त्री ज्यू प्रेसको विकास र सम्वद्र्धनका लागि अत्यन्तै चिन्तित छन् ।”

कार्यकारी अध्यक्ष झाले भवनलाई अहिलेका अवस्थामा पु¥याउन चासो र सहयोग गर्नुहुने प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री र मन्त्रालयको टिम, प्रमुख निर्वाचन आयुक्त एवं सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे ।

सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राईले नागरिकलाई सूचनाको हक सुनिश्चितता गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना सम्प्रेषण गर्नका लागि राससले आफूलाई अग्रमोर्चामा उभ्याएको बताए ।

डिजिटल युगमा आफूलाई समयानुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भव प्रयास गरिरहेको जनाउँदै उनले ‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूल मन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण र प्रचारप्रचार गरेर राससले अलग्यै पहिचान बनाएको उल्लेख गरे ।

महाप्रबन्धक राईले अनेकौँ आरोहअवरोह पार गर्दै राससले आफूले दिने सेवालाई विविधीकरण गर्दै भिडियो सेवा सुरुआत गरेको जानकारी दिए । यसअघि राससले नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, फोटो र अडियो सेवा सञ्चालन गर्दै आएको थियो ।

महाप्रबन्धक राईले राससले आफ्नो सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सात वटा प्रदेश कार्यालय र ११ ठूला सहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री ,प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल तथा राससका पूर्वध्यक्ष तथा महाप्रबन्धकलगायत विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा भवन निर्माण कम्पनीका तर्फबाट आयोजना कार्यान्वयन इकाइलाई बुझाइएको भवनको साँचो राससका कार्यकारी अध्यक्ष झाले ग्रहण गरेको थियो । सोही अवसरमा प्रधानमन्त्री देउवाले सिद्धबाबा कन्स्ट्रक्सन प्रालिका प्रमुख दीपक कार्कीलाई सम्मानपत्र प्रदान गरेका थिए। समारोहमा पूर्वेली महिला नौमती बाजा संस्थाद्वारा पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।

अत्याधुनिक भवन

राष्ट्रिय समाचार समिति २०१८ फागुन ७ गते विधिवत् स्थापना भएको संस्था हो । सरकारको आधिकारिक समाचार समितिका रुपमा सुरुमा नेपाल संवाद समितिका रुपमा स्थापना भएको यो संस्थाको २०२८ सालमा ऐन संशोधन भयो र राष्ट्रिय समाचार समितिमा रुपान्तरण भएको हो ।

राससको केन्द्रीय कार्यालय भवन २०७२ सालको भूकम्पले क्षति गरेपछि दैनिक कार्य सञ्चालन गर्नसमेत कठिनाइ भएको थियो । यही सन्दर्भमा सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(भवन तथा आवास) को सहयोगमा राससको नयाँ भवन पुनःनिर्माण गर्ने कार्य भएको हो । सिद्धबाबा कन्स्ट्रक्सन प्राली काठमाडौँ–३१ शान्तिनगरले राससको पुनःनिर्मित दुई भवन निर्माण गरेको हो । विसं २०७४ साउन २६ गते सम्झौता भई यी भवन निर्माण सम्पन्न भएका हुन् । यी चार÷चार तला रहेको दुई भवनमा ५६ कोठा छ । दुवै भवनमा मल्टी प्रपोज हल, दुई वटा लिफ्ट, एयर कन्डिसन र फायरफाइटिङ सिस्टमलगायत अन्य सुविधा रहेको छ ।

यी दुवै भवनको निर्माण गर्न रु १६ करोड ८६ लाख ५२ हजार १२२ खर्च लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७४ कात्तिक ९ गते रासस भवनको शिलान्यास गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot