Logo

नारायणगढ–बुटवल सडकः म्याद सकिन ४ दिन बाँकी रहदा ८२ प्रतिशत काम



काठमाडौं, साउन १२। चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रशन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडले नारायणगढ–बुटवल सडकको काम सम्झौता अवधिमा एक चौथाइ पनि नसिध्याउने निश्चित भएको छ ।

अर्को रोचक पक्ष– यही कम्पनीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्गको केही अंश बनाउने जिम्मा पाएको छ । ११४ किलोमीटरको नारायणगढ–बुटवल सडक साढे ३ वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । २०७५ माघमा सडक विभाग र कम्पनीबीच भएको सम्झौताको म्याद सकिन ४ दिन बाँकी छ । उक्त आयोजनाको आजसम्मको भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत छ ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको स्तरोन्नति र विस्तारका लागि विभाग र कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आउने अगस्त १ (साउन १६ गते) सम्ममा सडक विस्तार भइसक्नुपर्थ्यो । तर, अझै ८२ प्रतिशत काम बाँकी छ । १६ अर्ब रुपैयाँ लागतको यो सडक निर्माणमा ठेकेदारको खेलाँची र सम्बद्ध निकायले समयमै साइट क्लियर नगर्दा अत्यन्तै कम प्रगति देखिएको हो ।

सडक विभागले ठेक्का सम्झौता गरे पनि समयमै रूख काट्ने, बिजुलीका पोल सार्ने जस्ता काम नगरिदिँदा निर्माण कम्पनीले कोरोनापूर्वको झन्डै १ वर्ष उचित रूपमा काम गर्नै पाएन । कम्पनीले संक्रमण कम हुँदा पनि निर्माण उपकरण ल्याउन विलम्ब गर्दा र व्यवस्थापनमा खेलाँची गर्दा सम्झौता अवधि सकिँदासम्म भौतिक प्रगति २० प्रतिशत कम छ ।

सम्झौता अवधिमा काम नसकिने भएपछि कम्पनीले गतवर्षदेखि नै थप २ वर्ष म्याद थप्न आग्रह गर्दै आएको थियो । तर, विभागले २ वर्ष म्याद नथप्ने जानकारी दिएको छ । परामर्शदाताले १ वर्षमात्रै म्याद थप्न विभागलाई सुझाव दिएको छ । सोहीअनुसार १ वर्ष म्याद थप्ने तयारी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्