Logo

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि



हेटौँडा, साउन १२ । बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीको मिलेमतोमा अनियमितताको आशङ्कासँगै सार्वजनिक रूपमा विरोध भएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो ।

बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा भएको भनिएको अनियमितताका सम्बन्धमा छानबिन उपसमिति गठन गरी अध्ययन थालेपछि र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रले ठेक्का प्रक्रिया रद्द गरेको हो ।

सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले तयार गरेको प्रतिवेदनमा कार्यालयको खरिद एकाइको निर्णयअनुसार बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीले तयारी गरी कार्यालय प्रमुखबाट स्वीकृत भएको सिटी स्क्यान मेसिनको स्पेसिफिकेसन बोलपत्र दर्ता गर्ने कम्पनीको मागकै आधारमा संशोधन गरी स्वीकृत गरिएको उल्लेख छ ।

समितिले स्पेसिफिकेसन बनाउँदा विश्व बजारमा प्राप्त हुने नवीनतम प्रविधिको आधार लिएको नपाइएको भन्दै खरिद प्रक्रियाको अध्ययन र विश्लेषण गर्दा सिटी स्क्यान मेसिन खरिद कार्यमा गम्भीर प्रक्रियागत त्रुटि रहेको औँल्याएको छ ।

केन्द्रका निमित्त प्रमुख डा अर्जुन सापकोटाले समेत समितिले अध्ययनको क्रममा सोधपुछ गर्दा ‘क्याटोगरी’ र ‘स्पेसिफिकेसन’ बनाउँदा ध्यान नपुगेको स्वीकार गरेका छन् । निमित्त प्रमुख सापकोटाले सुरुवातदेखि नै प्रक्रियामा कमजोरी भएकै हो भन्दै सार्वजनिक लेखा समितिमा विषय उठेकै कारण ठेक्का रद्द नगरेको दाबी गरेका छन्। उनले लेखा समितिमा विषय उठ्नुअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कागजात माग भई आएकोले पठाइएको समितिलाई सोधपुछका क्रममा बताए प्रतिवेदनमा उल्लेख छ ।

सिटी स्क्यान मेसिन खरिदका क्रममा प्रक्रियागत त्रुटि भएको तथा आर्थिक अनियमितताका लागि चलखेल भइरहेको सार्वजनिक भएपछि उक्त विषयले प्रदेश सभामा प्रवेश पाएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्