Logo

लाखौं विद्यार्थीले एसईईमा ३५ नम्बर पनि ल्याउन सकेनन्: शिक्षाविद्



काठमाडौं, १२ साउन । शिक्षाविद् विद्यानाथ कोइरालाले सिकाइ उपलब्धिमा सुधारका लागि सरकारी ‘नीति’भन्दा पनि ‘नियत’ परिवर्तन गर्नुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिक्षाविद् कोइरालाले भने, “सरकारले कोरोना महामारीका कारण शिक्षक र विद्यार्थीले दुई महिनाभन्दा बढी पढ्न र पढाउन नपाएकाले एसईईमा कमजोर भएको बताएको छ । तर कोरोना बहानाबाजी मात्र हो । विद्यार्थीमा नपढे पनि सर मिसले पास गराउँदा रहेछन् भन्ने पर्यो, शिक्षकमा दुई महिना पढाए पनि पुग्दो रहेछ भन्ने भयो । ग्रेडिङ सिस्टमको खराबीमा आँखा चिम्लियौं । सरकारले नीतिभन्दा पनि नियत परिवर्तन गर्नुपर्छ ।”
कोरोनाकालमा अनलाइन पढाइ प्रभावकारी बनाउन सरकार नलागेको पनि कोइरालाले औंल्याए । उनले भने, “हामी पढाइलाई व्यावहारिक बनाउने प्रक्रियामा जाँदै गएनौं । अनलाइनमा मात्र पढाइ हो भन्ने भयो । अनलाइनबाट प्रभावकारी भएन भन्ने हो भने कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान दिएनौं । विश्वभरि अनलाइनमार्फत खुला विद्यालय चलिरहेका छन् । अनलाइनका पनि अफलाइन, रेकर्डेड क्लास, अनुसन्धानमूलक डिग्री आदि विकल्प छन् ।”
शिक्षामा दलीयकरणका कारण पनि स्तर खस्केको उनको टिप्पणी छ । कोइरालाले थपे, “नेपालमा स्वतन्त्र मान्छे भेट्नै गाह्रो छ । । दलको ऊर्जा शिक्षाको सुधारमा छैन । दलका मालिकहरुले शिक्षालयमा दलीय राजनीति गर्नु अपराध हो भन्ने महसूस गरेनन् । लाखौं विद्यार्थीले ३५ नम्बर पनि ल्याउन सकेनन् । पढेको र पढाएको काम लागेन । अब कक्षा ११ र १२ मा पढिखाने, गरीखाने, पढाइमा गराइ, गराइमा पढाइ हुने अभ्यास सुरु गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्