Logo

खस्कियो शिक्षाको गुणस्तर



काठमाडौं, साउन १२ । नेपालमा कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड नेपालले बुधबार सार्वजनिक गरेको माध्यमिक तह (एईई) को नतिजामा गुणस्तर खस्किएको पाइएको हो ।

गत वैशाखमा देशभर एकैसाथ सञ्चालित परीक्षाको नतिजाअनुसार उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा कमी देखिएको छ ।

२०७५ सालमा ३।६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ३.८३ प्रतिशत रहेको थियो । बुधबार सार्वजनिक नतिजामा भने यो वर्ष ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १.९४ प्रतिशतमा सीमित बनेको छ । २०७५ सालको तुलनामा यो संख्या १.८९ प्रतिशतले कमी आएको हो ।

एसईईमा ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने परीक्षार्थीको संख्यामा पनि कमी देखिएको छ । २०७५ सालमा यो ग्रेड ल्याउने विद्यार्थीको संख्या ११.१३ प्रतिशत रहेकामा यो वर्ष ८.४ प्रतिशतमा झरेको छ ।

कोभिड महामारीका कारण २०७६/०७७ सालको एसईईको नतिजा भने राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षा र मूल्यांकन गरी पठाएको अंकलाई नै स्वीकृत गरी नतिजा सार्वजनिक गरेको थियो ।

बोर्डले २०७५ पछि यो वर्ष परीक्षा सञ्चालन गरेकोमा कोभिड महामारीलगायतका कारण शिक्षाको गुणस्तरमा कमी देखिएको हो । कतिपय शिक्षाविद्हरूले कोभिड महामारीको समयमा सिकाइ कार्यमा नै कोभिडको असर परेकाले उच्च तहको नतिजामा पनि असर परेको टिप्पणी गरेका छन् ।

यो वर्ष उच्च तहको जीपीए ल्याउने विद्यार्थीको संख्या घटेपछि तल्लो तहको अंक ल्याउनेको संख्यामा भने वृद्धि देखिएको छ । २०७५ सालमा २.८ देखि ३।२ जीपीए ल्याउने परीक्षार्थी १३.८८ प्रतिशत रहेकामा अहिले १४.१० प्रतिशत पुगेको छ ।

त्यस्तै, २.४ देखि २.८ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६७ प्रतिशत रहेकामा यो वर्ष झन् बढेर १८.३१ प्रतिशत पुगेको छ । २०७५ सालमा २ देखि २.४ जीपीए ल्याउनेहरू संख्या २१.३८ प्रतिशत रहेकामा २०७८ सालमा २२.७४ प्रतिशत पुगेको छ ।

यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै, ३।२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६ सय २७ रहेको बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या ६९ हजार ९ सय रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७ सय ५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७ सय ३३ रहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्