Logo

चीनले ‘कम्युनिस्टहरू मिल’ भनेर मात्र हुँदैन, को कम्युनिस्ट हो, को होइन भनेर छुट्याउनुपर्‍यो नि : हरिबोल गजुरेल



काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले कम्युनिस्ट एकताका लागि चिनियाँ सद्भाव रहनु स्वाभाविक भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड कम्युनिस्ट एकताका लागि चीन जान लाग्नुभएको होइन । चीनले कम्युनिस्टहरु मिल भन्नु राम्रै कुरा हो । तर मिल, मिल मात्र भनेर भएन । को कम्युनिस्ट हो, को कम्युनिस्ट हो भनेर पनि छुट्याउनुपर्‍यो नि ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतपछि चीन भ्रमणमा जाँदैछन् ।
पूर्व माओवादी र पूर्व नेकपाका नेताहरुबीच पार्टी एकताको छलफल चलिरहेको पनि उनले औंल्याए । गजुरेलले भने,” हामी समाजवादी केन्द्र बनाउने प्रयासमा छौं । उपेन्द्र यादव, माधव नेपाल, वामदेव गौतम, बाबुराम भट्टराई आदि नेताहरु मिलेर जान सकारात्मक हुनुहुन्छ । तर फाइनल भएको छैन ।”
मोर्चा वा एकता नभए पनि माओवादी केन्द्र एक्लै चुनावमा जान सक्षम भएको पनि गजुरेलको दाबी छ । उनले भने, “कतिपयलाई माओवादी सानो शक्ति हो, सिटका लागि अरुसित मिल्छ भन्ने भ्रम छ । हामी सबैभन्दा ठूलो पार्टी पनि भएकै हौं । अहिले तेस्रो पार्टी भएका छौं । रातारात पहिलो पार्टी हुने पनि होइन । एक्लाएक्लै जाऊँ न त । दुईचार सिट घट्ला । त्यसले के फरक पर्छ र ?”
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणलाई चासो, चिन्ता र सम्भावनाका रुपमा हेर्नुपर्ने पनि उनले बताए । गजुरेलले थपे, “मित्रराष्ट्रहरुका प्रतिनिधिको भ्रमणलाई हामीले नराम्रो अर्थमा मात्र लिनुहुँदैन । त्यसलाई चासो, चिन्ता र सम्भावनाका रुपमा हेर्नुपर्ने हुन्छ । हामी साना ठूला सबै मित्रराष्ट्रसँग सम्बन्ध बढाउन चाहन्छौं । अमेरिकासँगको सम्बन्ध बिगार्न हामी पनि चाहँदैनौं ।” उनले अमेरिकाले एसपीपी बढाउन चाहेको हुन सक्ने पनि बताए ।
प्रचण्ड र आरजु देउवाबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको कुरा साँचो हो भन्ने पत्रकार धमलाको प्रश्नमा गजुरेलले भने, “आरजु र विजय चौथाइवालेबीचको भेटघाटलाई किन उछलिएको हो ? मैले बुझ्न सकेको छैन । आरजु नेपाली कांग्रेसकी नेतृ र फस्ट लेडी हुनुहुन्छ । बिरामी भएर भारतमा उपचार गरिरहनुभएको छ । भेटघाट नै प्रधानमन्त्री बनाउनका लागि भएको कसरी भन्ने ? प्रधानमन्त्रीमा कसैको इच्छा र चाहना हुनु नराम्रो होइन । तर हाम्रो पार्टी र गठबन्धनमा यसबारे कुनै छलफल भएको छैन ।”



प्रतिक्रिया दिनुहोस्