Logo

इराकः बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश



काठमाडौं, साउन १२ । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्।

धर्मगुरु मुक्तदा अल(सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।

प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो। यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्।

सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल(खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्।

भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो। त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन।

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो। तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन।

उनी सहित उनका समर्थकहरूले अहिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोध गरेका हुन्। उनीहरू सुदानीलाई इरानसँग धेरै नजिक रहेको ठान्छन्। कुनै समय तेलको धनी राष्ट्र इरानले सामना गरिरहेका धेरै सङ्कटहरू मध्ये बुधवारको घटना पनि एक हो।

सन् २०१९ मा पनि इराकमा भ्रष्ट्राचार, बेरोजगारी र सार्वजनिक सेवाको बेतिथिबारे ठूलो प्रदर्शन भएको थियो। ह्युमन राइट्स वाचका अनुसार उक्त प्रदर्शनमा सुरक्षाकर्मीले सयौँको हत्या गरेका थिए।

इराकस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले प्रदर्शन कानुन सम्मत र शान्तिपूर्ण रहेसम्म प्रदर्शनकारीहरूलाई प्रदर्शन गर्न पाउने अधिकार रहने बताएको छ।



प्रतिक्रिया दिनुहोस्