Logo

भाजपासँग सम्बन्ध कसिलो बनाउन नेताहरु सक्रिय



काठमाडौं, १२ साउन । कुनैबेला भारतमा कँग्रेस आईका नेताहरुलाई भेट्न नेपालका नेताहरु आतुर देखिन्थे । कँग्रेस आई सत्तामा हुँदा या नहुँदा पनि त्यस्तो आतुरता देखिन्थ्यो । सत्तामा रहेपनि भारतीय जनता पार्टीसँग सम्बन्ध बनाउन नेपालका नेताहरु हच्कन्थे । कारण थियो कँग्रेस आई र निकट शक्तिले नोटिसमा राखेर सम्बन्धमा असर गर्ने डल देखि भाजपाले हिन्दुत्वको सिद्धान्त अंगिकार गर्नु र नेपालका मुख्य दलहरु त्यसप्रति अनुदार रहनु ।

अहिले परिस्थिति फरक देखिएको छ । नेपालका नेताहरु भाजपासँग सम्बन्ध सुदृढ बनाउने दौडमा देखिएका छन् । अटल विहारी वाजपेयी प्रधानमन्त्री हुँदा त्यो आतुरता नेताहरुमा थिएन । यतिसम्मकी नरेन्द्र मोदी पहिलोपटक सन् २०१४ मा प्रधानमन्त्री बन्दा समेत नेपालका नेताहरु भाजपाप्रति अनुदार नै थिए । नेपाली काँग्रेस समेतले भाजपासँगको सम्बन्ध सुदृढीकरणलाई प्राथमिकतामा राखेन ।

नेपाली काँग्रेसको सम्बन्ध भारतका समाजवादी दलहरुसँग नजिक देखियो । भारतको कँग्रेस आईसँग सम्बन्ध सुदृढ देखियो । कम्युनिस्ट पार्टीहरुको भारतका कम्युनिस्ट पार्टी र समाजवादी पार्टीहरुसँगै सम्बन्ध राम्रो रह्यो । भाजपाको हिन्दुत्वको मुद्दाप्रति नेपाली काँग्रेस देखि कम्युनिस्ट पार्टीहरु समेत अनुदार देखिए । मधेश केन्द्रित दलहरु पनि आफूलाई समाजवादी नै देखाउनमा तल्लिन रहे । भाजपासँग सम्बन्ध सुदृढ गर्न खासै चासो राखेनन् ।

सन् २०१९ मा नरेन्द्र मोदीको दल भाजपाले एक्लै बहुमत ल्याएपछि भने नेपालका धेरै दल र तिनका नेता यु टर्न हुनथाले । भाजपासँग सम्बन्ध सुदृढ बनाउने चाहना देखाउन थाले । मोदीको करिश्माले भाजपा अझै केही वर्ष सत्तामै रहने आँकलनहरु हुनथाल्यो । अनि नेपालका नेताहरुमा आतुरता बढ्यो ।

भाजपाले पनि नेपालका नेताहरुको सम्बन्ध सुदृढीकरणको चाहना देखेर भ्रमणहरु सुरु गर्यो । भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर भेटवार्ता गरे । भाजपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेसका सभापतिका रुपमा निम्तो गर्यो । देउवा भाजपा केन्द्रीय कार्यालय पुगेर जेपी नड्डालाई भेटे ।

भाजपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि दिल्ली निम्तो गरेर भेटवार्ता गर्यो । पार्टीगत सम्बन्ध सुदृढ बनाउने कदम चाल्यो । प्रचण्ड भाजपा अध्यक्ष जेपी नड्डलाई भेट्न भाजपा केन्द्रीय कार्यालय नै पुगे । कम्युनिस्ट पार्टीका नेता दक्षिणपन्थी भनिएको भाजपा नेतासँग सम्बन्ध सुदृढ बनाउन दिल्ली पुगे ।

भाजपाले नेपालका अन्य शिर्ष नेताहरुलाई पनि निम्तो पठाउने चर्चा छ । उनीहरु केही समयभित्रै भारत भ्रमणमा पुग्ने बुझिएको छ ।

मोदीको करिश्मासँगै भाजपा भारतमा शक्तिशाली बन्दा नेपालका नेताहरुले पनि आफूलाई यु टर्न गर्न थालेका छन् । उनीहरु कँग्रेस आई र समाजवादी शक्तिसँग भन्दा भारतमा हिन्दुत्वको सिद्धान्त मान्ने भाजपासँग हातेमालो गर्न आतुर देखिएका छन् । यतिसम्मकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा दिल्लीमा अधिकांश समय बिताएर भाजपा नेताहरुसँग भेटवार्ता गर्दै आएकी छिन् । उनले विजय चौथाइवालेलाई बालुवाटारमा राखी बाँधिदिएको विषय चर्चामा छ । भारतको सत्तामा भाजपा रहनु, राज्य संयन्त्रमा उसको प्रभाव बढ्नुले पनि नेपालका दल र नेताहरु भाजपासँग सुदृढ सम्बन्धका लागि आतुर देखिएका हुनसक्छन् ।



प्रतिक्रिया दिनुहोस्