Logo

एउटै सिरिन्जले ४० बालबालिकालाई कोरोना खोप लगाएपछि हंगामा



एजेन्सी, १२ साउन । भारतको मध्यप्रदेशको सागरमा कोरोना खोपमा स्वास्थ्य विभागको लापरवाही सार्वजनिक भएको छ ।

स्वास्थ्य विभागले बुधबार एक नर्सिङ विद्यार्थीलाई जैन पब्लिक स्कुलमा खोप लगाउन एक्लै पठाएका थिए । उनले एउटै सिरिन्जले ४० जना बालबालिकालाई खोप दिए । अभिभावकले हंगामा मच्चाएपछि विद्यार्थीले भने–अधिकारीले त्यही सिरिन्ज दिएर सबै बालबालिकालाई खोप लगाइदिए ।

जैन पब्लिक स्कुलमा खोप शिविरका लागि स्वास्थ्य विभागले कर्मचारीको सट्टा नर्सिङ विद्यार्थीको ड्युटी लगाएको थियो । नर्सिङ तेस्रो वर्षका विद्यार्थी जितेन्द्रले खोप लगाउन थाले । उनले एउटै सुईले एकपछि अर्को गरी ४० जना बालबालिकालाई खोप दिए ।

भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार कक्षा ९ मा अध्ययनरत छोरीलाई खोप लगाउन दिनेश नामदेव आउँदा सबै बालबालिकालाई एउटै सुईले खोप लगाइँदै गरेको देखे । त्यसको विरोध गर्दा जितेन्द्रले आफूलाई एउटा सिरिन्ज मात्र दिइएको बताए । त्यसमा दिनेशले आपत्ति जनाएका थिए । उनीहरुसँगै अन्य अभिभावकहरु पनि जम्मा भएर हलाहल्ला गर्न थाले ।

बुधबार सागरका ५२ केन्द्रमा खोप शिविर सञ्चालन गरिएको थियो । प्रत्येक शिविरमा खोप लगाउने टोलीमा २ जना सदस्य हुन्छन्। कर्मचारी अभावका कारण ४० वटा केन्द्रमा खोप लगाउने जिम्मा निजी कलेजका नर्सिङ विद्यार्थीलाई दिइएको स्वास्थ्य विभागका अधिकारीहरुले बताएका छन् । विभागीय कर्मचारीले १२ केन्द्रमा मात्रै खोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्