Logo

एसपीपीमा अमेरिकालाई ठाडो जवाफ दिएर झारा टार्न मिल्दैनः डा. प्रकाशशरण महत



काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई ठाडो जवाफ दिन मिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने, “एसपीपी कुन सरकारले गरेको भन्दा पनि नेपाल सरकारले आपत्विपत्को अवस्थामा अनुरोध गरेको हो । तर यहाँ अमेरिकी सेनाको उपस्थिति हुने हो कि अनेक आशंका बढिरहेको र मित्रराष्ट्रहरुको चासो र चिन्ता देखिएकाले अहिले किन त्यसको प्रक्रिया अघि बढ्दैन भनेर सरकारले भनेको हो । पहिले किन अनुरोध गरेको र किन अघि नबढाउने भन्ने अमेरिकाको जिज्ञासा हुन सक्छ । मित्रराष्ट्रलाई ठाडो जवाफले हुँदैन, कूटनीतिक आधारको जवाफ दिनुपर्यो । परराष्ट्र मन्त्रालयले उपयुक्त जवाफ दिन्छौं भनेकै छ त ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणमा गएर एसपीपीलाई निरन्तरता दिन चाहेको आशंका गरिँदैछ नि भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस प्रवक्ता डा. महतले भने, “सबैभन्दा सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्ने पार्टी नै नेपाली कांग्रेस हो । कहिले कता ढल्कने, कहिले कता ढल्कने प्रवृत्ति हामीले बन्द गराएका छौं । अझै पनि यसो गर्छ, उसो गर्छ भनेर कांग्रेसमाथि शंका गरिरहने ?”
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमण स्वाभाविक भएको पनि डा. महतले बताए । उनले थपे, “मित्रराष्ट्रहरुबाट भ्रमण भइरहनुलाई अन्यथा लिन मिल्दैन । नेपालमा अमेरिकाबाट मात्र होइन, विभिन्न मित्रराष्ट्रहरुबाट भ्रमण भइरहेका छन् । लामो समय अनिर्णीत भएको एमसीसी पाँच वर्षभित्र कार्यान्वयन गर्नुपर्ने अवस्था छ । अमेरिकाले ८० अर्बको थप अनुदान दिएको छ । त्यो कुन कुन क्षेत्रमा खर्च हुन्छ भन्ने प्राथमिकता निर्धारण हुन बाँकी छ । त्यसैले यो भ्रमण अस्वाभाविक छैन ।” एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले अस्वीकार नगरेको पनि उनको दाबी छ ।
आगामी निर्वाचनमा ५ दलीय गठबन्धन जारी रहने पनि डा. महतले स्पष्ट पारे । उनले भने, “अहिलेको निर्वाचन प्रणालीमा कुनै एक दलले बहुमत ल्याउन कठिन छ । संविधानले गठबन्धन गर्न पाइँदैन भनेको पनि छैन । एक्लै जाँदा पनि हाम्रो स्थिति पहिलेभन्दा मजबुत हुन्छ । तर गठबन्धनका दलहरु एक्लै जान तयार नभएको अवस्थामा हामीले सँगै जाऊँ भनेका हौं । गठबन्धनमा कसरी अगाडि बढ्ने कुरा अनौपचारिक छलफलमा छ । आआफ्नो प्रभाव क्षेत्रका आधारमा उम्मेदवारी दिने बारेमा गठबन्धनको छलफल अगाडि बढाउँछौं ।”



प्रतिक्रिया दिनुहोस्