Logo

बाहिरी चक्रपथ विकास आयोजनाको सम्पर्क कार्यालय बन्द



काठमाडौं, साउन १४ । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् ।

चालू आर्थिक वर्ष २०७९र८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ÷छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो ।

विगत १८ वर्षदेखि कागजमा सीमित रहेको आयोजनाको साइट कार्यालय र स्थायीबाहेकका कर्मचारीको म्याद थप नभएपछि राज्यको मासिक लाखौँ रुपियाँ जोगिएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख जानुका ढकालले नयाँ आर्थिक वर्षमा बाहिरी चक्रपथ विकास आयोजनामा कार्यरत स्थायी सेवाबाहेकका कर्मचारीको अवधि नथपिएको जानकारी दिईन् । आयोजनाको काम अगाडि बढ्न नसकेकाले नयाँ आर्थिक वर्षमा स्थायी सेवाबाहेकका कर्मचारीको अवधि थप नगरिएको उनको भनाई छ ।
उनले सो आयोजना निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइन्मेट) को अध्ययन सुरु भएपछि आवश्यकताका आधारमा नयाँ प्राविधिक कर्मचारी भर्ना गरिने जानकारी दिइन् ।

सो आयोजनामा सुरुदेखि नै उपसचिवदेखि कार्यालय सहयोगी तहसम्मका करार कर्मचारी भर्ना गरी तलब सुविधा दिँदै आइएका थिए । एक इन्च पनि काम अगाडि बढ्न नसकेको सो आयोजनामा कार्यरत १६ जना कर्मचारीमध्ये १३ करार थिए । आयोजनाका कर्मचारीको काम कार्यालयमा आउने, घाम ताप्ने, तलब भत्ता लिने मात्रै भएको कार्यालयकै कर्मचारी बताउँछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्