Logo

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले साउन १८ गते नागरिकता विधेयक र भ्रष्टशासनको विरुद्ध वृहत जनप्रदर्शन गर्ने



काठमाडौं, १३ साउन । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आगामी साउन १८ गते नागरिकता विधेयक र भ्रष्टशासनको विरुद्ध वृहत जनप्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोर्चाले १८ गते साँढे १२ बजे माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।

मोर्चाले वैदेशिक रोजगारीको क्रममा ८० लाख नागरिकमाथि भएको श्रम शोषणको अन्त्य गरी तत्काल राज्यको पहलमा क्षपिपुर्ती दिने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

मोर्चाले न्याय क्षेत्रमा हुने भ्रष्ट्रचार, अनियमितता माथी छानविन गरी न्यायालयसंग सम्बन्धीत व्यक्तिहरुको सम्पती छानविन गरी आवश्यक कार्वाही गर्न समेत माघ अघि सारेको छ । तत्कालीन सेना समायोजनको क्रममा अबौं रुपैयाँ रकम घोटाला भएको प्रकरणमा छानविन अगाडी बढाई दोषीलाई कारवाही गर्न र तत्कालीन जनमुक्ति सेनाहरुलाई रोजगार र सुरक्षाको व्यवस्था गर्नुपर्ने मोर्चाले जनाएको छ ।

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको बारेमा धारणा राख्दै वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद लुइटेलले बहुदलिय सरकार भ्रष्टाचारमा लुप्त रहेको र यो सिस्टमबाट आशा गर्ने ठाउँ नभएको बताए । उनले भने,‘देशमा अस्तव्यस्त भएका उद्योगधन्दाहरु, स्रोत साधनको वेचविखन सकाएर अहिले नागरिकता बेच्न पुगेको छन् ।’ उनले ०४७ को संविधानदेखि ०७२ को संविधानसम्म बहुदलीय नेताहरुले राज गरिरहेको बताए ।
उनले नेपाल प्रति सदासय राख्ने नेपाली तथा विदेशीहरुले छिटो भन्दा छिटो बहुदलिय गणतन्त्र व्यवस्था खारेज गरेर नयाँ व्यवस्था लागु गर्नुपर्ने टिप्पणी गरे । उनले भने,‘मंसिरमा चुनाव भएपछि ६०१ जना साशक आउँछन् त्यो भन्दा पहिला नै लोकतन्त्र खारेज गर्नुपर्छ ।’

यसैगरी,उपत्यका प्रमुख दिनेश नापितले सरकारले विदेशीलाई बोलाएर नागरिकता दिएर देश बिगार्न लागेको लागेकोमा आपत्ति जनाए । देशका जनतामाथि अन्याय भइरहेको उनको भनाई थियो । उनले गाउँका सोझा मानिसहरुलाई विदेश पठाएर धेरैका आमा बुवा रुवाउने राज्य नै भएको समेत दाबी गरे । युवाहरुलाई रोजगार दिएर स्वदेशमा व्यवस्थापन गर्नुपर्ने उनले धारणा राखे । परिवारको सदस्य छुटाएर राज्यले नै अपराध गरिरहेको उनले आरोप लगाए । ‘खाडी मुलुकमा युवाहरु पठाएर दुनियाँको परिवारलाई रुवाएको छ । गरिब किसान परिवारको बिचल्ली भएको छ ।’ उनले भने,‘नेताहरु गाउँबाट काठमाडौं आएर घर बनाएर मोजमस्तीमा लागे, जनतालाई बिर्सिए ।’

त्यस्तै, जनकवि भोला बरालले कवितामार्फत सरकारप्रति व्यग गरेका थिए । उनले ठु्ला नेताहरुलाई विदेशीको दलालको संज्ञा दिए । उनले कार्यक्रममा मजदुरको बारेमा कविता वाचन गरेर सुनाए । उनले बजारमा महंगीले सिमा नाघेको टिप्पणी गरे ।
जनताले एक छाक मासु र भातमा भोट हाल्ने प्रवृत्ति अझै नगएकोमा दुख पोखे । उनले भने,‘अब मुक्ति पाउनको लागि जनताले भ्रष्टाचारीहरुलाई संसदमा छिर्न दिनु हुँदैन् । अबको आन्दोलनमा देशप्रेमीहरु एक गर्नुपर्छ ।’

मोर्चाको अवधारणा राख्दै सह–महामन्त्री नव पन्तले मोर्चा स्थापना नेपाली इतिहासमा देश निर्माणको लागि भएको बताए । धमिराले काठलाई खाए झै नेताहरुले देश खाएको उनले टिप्पणी गरे । अब पनि जनता नजागेमा श्रीलंकाको जस्तो नेपालको हालत हुने उनको भनाई थियो । पन्तले मजदुर नै यो देशको निर्माता हुन् भन्दै देश बनेकै तीनै मजदुरको सम्मान राष्ट्रले गर्न नसकेको बताए ।
देशका होनाहार युवा मजदुरहरु खाडीमा पुगेको भन्दै उनले विदेशमा उनीहरुको हालत चौपट भएको उल्लेख गरे । उनले भने,‘रुनु र हास्नुको दोषाधमा मजदुरहरु रहेका छन्, श्रीमान र श्रीमतीलाई छुट्टाएर धेरैको घर बेघरबार गराएको छ र यसको दोष राज्यले लिनुपर्छ ।’

सत्तारुढ पाँच दलबीचको भएको गठबन्धनलाई उने अपराध गठबन्धनको संज्ञा दिए । पुर्खाको देश बेच्नलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई अधिकार नभएको समेत टिप्पणी गरे । अझै पनि चेत नखेलेर देशको हित विपरित काम गरे देउवा निवास बुढानिलकण्ठमा आगो लगाइदिन नपरोस भन्दै उनले आक्रोस पोखे । उनले युवाहरु मजदुरहरु विदेशमा अनाधिकृत रुपमा बेचिएको भन्दै उनले मजदुरहरुको सहयोगमा आन्दोलन गर्ने पनि जानकारी दिए ।

पन्तले आगामी साउन १८ गते माइतीघर मण्डलामा नागरिकता विधेयक र भ्रष्टशासनको बिरुद्ध १२ः ३० बजे जनप्रदर्शन कार्यक्रम रहेको उल्लेख गर्दै देशप्रेमीहरुलाई उपस्थितीको आग्रह गरे ।

यसैगरी, सम्राट सिंह सिटौलाले सरकारले श्रम दिवस मनाउँदै गर्दा विदेशमा आफ्ना मजदुरहरु हेपिएको नदेखेको आरोप लगाए । मजदुरको समस्या र सवालमा राजदुतावासले कुनै चासो नदिएको उनले बताए । नेपालमा विदेशी दलाल हावी भएको भन्दै सिटौलाले झुटो बोल्ने मेनपावरलाई सरकारले कारवाही गर्न नसकेको टिप्पणी गरे । युवाहरु विदेशिने क्रम बढ्दै जाँदा नेपालीको पहिचान पनि लुप्त हुने अवस्था सृजना हुने उनको भनाई थियो । विदेशमा भएका ८० लाख भन्दा बढी नेपाली रहेको भन्दै राजदुतावासलाई ती मजदुरको अवस्थाबारे कुनै जानकारी नभएको समेत दाबी गरे ।

त्यस्तै, वैदेशिक रोजगार उद्दार नेपालको अध्यक्ष इन्द्रलाल गोलेले कामको वहानामा विदेश गएका महिला बेचिने, युवाहरु शौचालयमा थुनिने लगायतका थुपै्र समस्या रहेको सुनाए । विदेशमा गएका युवाहरुको रेमिट्यान्सले नेपाल धानिएकोमा सरकारलाई लाज हुनुपर्ने उनको भनाई थियो । उनले भने,‘यहाँ एउटा तलब कुरा हुन्छ र उता गएर त्यो तलब दिँइदैन, मेनपावरहरुले सधै झुटो बोलेर मजदुर पठाउने गर्छन् ।’ गोलेले मेनपावर व्यवसायीहरुले वैदेशिक रोजगार विभागलाई हातमा लिएको मजदुरहरुलाई ठगी गरेको आरोप लगाए ।

विदेशमा अलपत्र परेका मजदुरहरुलाई उद्दार नगर्ने वैदेशिक रोजगार विभागलाई सरकारले कारवाही गर्न नसकेको बताए । सबै भन्दा धेरै दुवै र साउदी अरबमा युवाहरु धेरै अलपत्र परेको उल्लेख गरे ।

मोर्चाका मजदुर तथा वैदेशिक रोजगार विभागका प्रमुख श्यामबहादुर सापकोटाले कतिपय देशमा श्रम सम्झौता नगरी एकछापे श्रम स्वीकृती दिएर मजदुर पठाउने नेपाल सरकारको सबैभन्दा ठुलो कमजोरी रहेको बताए । उनले २४ घण्टाभित्र अलपलत्र परेका नेपालीलाई उद्दार गर्ने सकिने अवस्था हुँदा हुँदै सरकारले नगरेको उनको भनाई थियो । उनले विदेशमा आपतमा परेका नेपालीहरु मोर्चामा सम्पर्क गर्न आग्रह गरे ।

उनले भने,‘देश भरका सबै निकायले साथ दिए २४ देखि ४८ घण्टाभित्र नेपालीहरुलाई उद्धार गर्न सकिन्छ । यदि गर्न सकिएन भने मलाई फासी दिन सक्नुहुन्छ ।’ वैदेशिक रोजगारीमा कामदार पठाउदा प्रत्येक दिनको ८ घण्टाको न्यूनतम १५० अमेरिकी डलर वा सो बराबर पठाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरे । उक्त माग सम्बोधन नभएमा वैदेशिक रोजगारीमा नागरिक पठाउने कार्य बन्द गर्नुपर्ने उनले धारणा राखे । रघु न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्