Logo

शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने चक्रवर्ती ल कलेजका विद्यार्थी संगठनको घोषणा



काठमाडौं, १३ साउन । काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजमा शिक्षण शुल्क बृद्विको विरोधमा उत्रिएका विद्यार्थीमाथीे प्रहरीले गरेको दमनको कलेजका विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विद्यार्थीहरुले उठाएका माग अनुरुप अनुचित रुपमा बढाइएको शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने घोषणा गरेका हुन् ।

विद्यार्थी संगठनले निजि कलेज संचालक र प्रहरी प्रशासनको सेटिङमा माफिया पोस्न उद्दत रहेका भन्दै बिद्यार्थीलाई आक्रमण गर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न समेत गृहप्रशासन समक्ष जोडदार माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ चक्रवर्ती कलेजका नेता पवन आचार्यले विद्यार्थीका जायज माग राखेर शान्तिपुर्ण आन्दोलनको क्रममा कलेजका सेक्युरीटिले धकेलेको बताए । सामान्य विवाद हुँदै गर्दा प्रशासनले प्रहरी भित्राएर लाठी चार्ज गर्दा केही साथीहरु घाइते भएको बताए । उनीहरुको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको सुनाए ।

त्यस्तै, विद्यार्थी नेता सुवास रेग्मीले विद्यार्थीको हकहितको लागि भएको आन्दोलनलाई लिएर कलेजको पठनपाठन बन्द गर्नु खेदजनक भएको बताए ।

विद्यार्थीहरुको जायज माग राख्ने क्रममा प्रहरीको आक्रमणबाट नेपाल विद्यार्थी संघ चक्रवर्ती ल कलेजका अध्यक्ष अभिनव सिंह राठौर,विद्यार्थी नेता सफल कटुवाल घाइते भएका थिए भने अखिल क्रान्तिकारीका इकाई सचिब दिर्घ रोकायमाथि अङ्गभङ्ग हुने गरि आक्रमण गरिएको उनीहरुले आरोप लगाएका छन् । नेविसंघ चक्रवर्ती कलेजका सचिब द्वोय राजेन्द्र रोकाया र सुरज रेग्मीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

मापदण्ड पालना नगरी कलेजले नयाँ शैक्षिक सत्रमा बिएएलएलबी मा शुल्क रु ७,९६,४०० बाट रु १०,७०,००० र एलएलम को रु ३,२३,००० बाट रु ५,४८,००० निर्धारण गरेको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका थिए । कलेजको यस्तो कदमले कानुनी शिक्षाको पहुँच लाइ खुम्च्याउछ भन्दै धेरै शुल्क लिनु अनुपयुक्त र अब्यबहारिक रहेको विद्यार्थीहरुले बताउँदै आएको छन् ।

कलेज प्रशासनले अनुचित रुपमा शुल्क बढाएपछि संयुक्त बिद्यार्थी सङ्गगठनका तर्फबाट चरणबद्ध रुपमा समय–समयमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउने देखि लिएर, पहिलोपटक गत साउन ८ गते र सम्बोधन नभएपछि दोस्रो पटक साउन ९ गते ताला लगाएको थियो ।
तर, कलेज प्रशासनले गत साउन १० गते एकतर्फी रुपमा ताला खोलेपछि विद्यार्थीहरु थप आन्दोलित भएका थिए ।

विद्यार्थी संगठनले आन्दोलनलाई देखाएर दैनिक पठनपाठन नरोकि सहज रुपमा सुचारु गर्न समेत कलेज प्रशासनलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्