Logo

आगलागी पीडितलाई सहयोग



काठमाडौँ,१३ साउन । माइला कान्छा अभियानमार्फत सामाजिक सेवामा जुटिरहेका माया गुरुङ र पार्वती गुरुङले सास्कृतिक कार्यक्रममा चना चटपट र सेलरोटी बचेर कमाएको रकम कास्कीका आगलागी पीडितलाई सहयोग गरेका छन् । मानवीय सेवालाई भूगोलले नछेक्ने जनाउँदै समस्यामा परेका नेपालीलाई अभियानमार्फत उनीहरुले सहयोग गर्दै आएका छन् ।

केही समय पहिले कास्कीको माछापुच्छ्रे« गाउँपालिका–८ कोलेली निवासी शोभाखर काफ्ले र लुम्रै निवासी गोलमान गुरुङको घरमा ग्यासको सिलिण्डर पड्केर आगालागीबाट क्षति भएको भन्ने खबर थाहा पाएपछि सहयोगमा जुटेको अभियन्ता माया गुरुङले जानकारी दिइन् ।

उनले भनिन्, “ हामीले गाउँमा ग्यास पड्केको र क्षति भएको भन्ने थाहा पायौँ, अनि मे २८ तारिखमा मगर सङ्घ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा अभियानका पार्वती गुरुङ साथै परोपकारी मनका धनी कविता गुरुङ र लता चेम्जो गुरुङको विशेष सक्रियतामा नेपाली चिया, चटपट, काँक्रो, खरबुजा, सेलरोटी बचेर केही आर्थिक रकम सङ्कलन गरेका हौँ ।” उनले सङ्कलित रकममा केही थपथाप गरेर पीडित दुई परिवारलाई रु ५० हजारका दरले रु एक लाख रकम नेपाल पठाएको जानकारी दिइन् ।

विदेशबाट प्राप्त उक्त रकम गाउँका स्थानीय युवा शङ्करमान गुरुङ र मिर्मिरे आमा समूहका अध्यक्ष राजकुमारी गुरुङको समन्वयमा माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामबहादुर गुरुङले पीडितद्वय शोभाखर काफ्ले र गोलमान गुरुङलाई उक्त रकम हस्तान्तरण गरेको हो । गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात् गरी सहयोग रकम जुटाएकामा धन्यवाद व्यक्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय गगनसिंह गुरुङले कठिन अवस्थामा एकअर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे ।

अर्का स्थानीय युवा सन्तोष गुरुङले कोभिड–१९ देखि नै माइला कान्छा अभियानको सामाजिक सेवाप्रतिको कार्य निकै सह्रानीय र प्रशंसनीय भएको बताए । अभियानले कोभिड–१९ को समयमा कास्कीको पोखरालगायत आसपासका थुप्रै बस्तीमा पुगेर राहतसँगै औषधि उपचारमा समस्या भएकाहरुलाई सहयोग रकम उपलब्ध गराएको अभियानका अर्का अभियन्ता पार्वती गुरुङले जानकारी दिए । उनले भनिन्, “मानवीय सेवा नै धर्म हो भन्ने सोचेर हामी अभियानमा सक्रिय छौँ, सहयोगी मन थुप्रै भएको र आफूहरु माध्यम मात्र भएकाले यसको सहयोगी मनलाई दिन चाहान्छौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्