Logo

आउने दिन के हुने हो भन्ने एउटा अन्यौलजस्तो स्थिति छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको व्यवस्थामा आफूहरु नै मूलधारको दल भएको दाबी गरेका छन् । उनले भने,‘हामी मेनस्ट्रिम हो । हामीले उठाएका मुद्दाहरु आज यो देशको राजनीतिको केन्द्र बनेका छन् । हामीले ल्याएको परिवर्तन र यो परिवर्तनमा सहादत प्राप्त गर्नेहरु यो परिवर्तनको बाहक हुन् । यो परिवर्तनको पक्षधरलाई सम्मान गर्नुपर्छ । यदि सम्मान गरिएन भने परिवर्तन उल्टाउने कुरा हो भनेर हामीले बुझाउनुपर्छ ।’

आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टीनिकट प्रेस सेन्टरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद् विघटन गरिएको विषय स्मरण गराउँदै आफूहरुले नै आन्दोलन गरेर व्यवस्था बचाएको दाबी गरे । उनले आफूहरु केही न केही रुपमा विचलित भएको सुनाए । विगतमा आफूहरु बाँचेपनि आस्थाको लागि बाँच्ने हो र मरेपनि आस्थाको लागि मर्ने हो भनेर हिँडेको दाहालको भनाई छ ।

तर, अहिले मरिने खतरा पनि नभएको उनको भनाई छ । उनले भने,‘अहिले त हामी तुरुन्तै मारिने खतरा पनि छैन् । त्यतिवेला त को कहाँ मारिने टुँगो नहुँदापनि हामीले जीवनको आनन्द लिएका थियौं । तर, अहिले हामी परिवारसँगै हुन्छौं । खुला छौं । मृत्युको खतरा विल्कुलै छैन् । तर, हामीलाई जीवनको सार्थकता के हो भन्ने ? अनि हामीले गरेको कामको औचित्य पुष्टि हुन्छ कि हुँदैन् ? आउने दिन के हुने हो ? भन्ने एउटा अन्यौलजस्तो स्थिति छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्